सगरमाथाको फेदमा संगीत महोत्सव

सगरमाथाको फेदमा संगीत महोत्सव

नेपाल र चीनको सीमानामा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदमा संगीत महोत्सवको आयोजना गरिएको छ । चीनको तिब्बत स्वायत्त प्रदेशको टिंग्री काउन्टीस्थित चासिचोम बजारमा गत आइतबार साँझ महोत्सव आयोजना गरिएको हो ।

स्थानीयको निकै बाक्लो भिड रहेको कार्यक्रमस्थल ४ हजार २ सय मीटरको उचाइमा पर्छ । चासिचोम उत्तरी मोहडाबाट सगरमाथा आरोहण गर्नेका लागि प्रवेशद्वार मानिन्छ । यहाँबाट सगरमाथाको आधार शिविर ४९ किलोमीटर टाढा अवस्थित छ ।

गर्मी मौसममा चीनका विभिन्न भागबाट सगरमाथा क्षेत्रको घुमघाममा आएकाहरु पनि सांगितिक कार्यक्रममा सहभागी भएका थिए । यस्तो कार्यक्रमले तिब्बत र स्थानीय सांस्कृतिक महत्वलाई फैलाउन मद्दत पुगेको उत्तरपूर्वमा रहेको लिआओनिङ प्रान्तका चाङले बताए ।

 

चीनको केन्द्र सरकारले तीन दशक अघिदेखि शुरु गरेको तिब्बतको विशेष विकासको योजनाअनुरुप अहिले तिब्बतमा विकासका उल्लेख्य नतिजा देखिन थालेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । उक्त काउण्टीका एक जना सरकारी अधिकारी चु तोङफेङले भने, ‘तिङ्ग्रीले शांघाईजस्ता ठूला शहरसँग मिलेर स्थानीय बजार र शहरको विकास गरिरहेको छ । यसले तिब्बतका ग्रामीण क्षेत्रको स्तर उकास्न निकै सहयोग पुगेको छ । बेलाबखत आयोजना गरिने संगीत तथा खाना महोत्सवले स्थानीय आर्थिक विकासमा टेवा पुग्ने गरेको छ ।’

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू