राजश्व उठाउन महानगरको आकर्षक योजना, पुस मसान्तभित्र कर तिर्नेलाई छुट

राजश्व उठाउन महानगरको आकर्षक योजना, पुस मसान्तभित्र कर तिर्नेलाई छुट

काठमाडौं महानगरपालिकाले तोकिएको समयावधिभित्र कर तिर्ने करदातालाई छुट दिने भएको छ । महानगरले आर्थिक ऐनबमोजिम बुझाउनुपर्ने कर तोकिएको समयावधिभित्र वडा कार्यालयमा दाखिला गर्नेलाई छुट दिन लागेको हो । 

महानगरको राजश्व विभागले आज सूचना जारी गर्दै बेलैमा सम्पत्ति कर, बहाल कर, व्यवसाय कर तिरी लाभ लिन करदातालाई सुसूचित गराएको छ । नियमित कर दाखिला गर्ने करदाताहरुले २०८० पुस मसान्तभित्र कर तिरेमा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट पाउने विभागले जनाएको छ । 

त्यस्तै, महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरहरुलाई ३० प्रतिशतसम्म कर छुट दिइने भनिएको छ । आफ्नै घरजग्गा भएका वा लिजमा लिएर सञ्चालन भएका त्यस्तो मनोरञ्जनात्मक क्षेत्रका करदाताले बक्यौतासहित पुस महिनाभित्र सम्पत्ति कर बुझाएमा ३० प्रतिशत कर छुट पाउनेछन् । 

व्यवसायिक रुपमा पार्किङ्ग प्रयोजनका लागि निर्माण भएको भवनको हकमा भनिएको छ,‘व्यवसायिक रुपमा सवारी साधन पार्किङ्ग प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ्ग प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।’

त्यसैगरी, ‘एक वडा एक नमुना उद्यम कार्यक्रम’ अन्तर्गत सञ्चालित उद्योग वा व्यवसायहरु दर्ता भएको तीन वर्षसम्म व्यवसायीले बुझाउनुपर्ने व्यवसाय कर र दर्ता शुल्कमा ९५ प्रतिशत छुट हुने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ । 

विभागका अनुसार महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका संस्थाहरुले पुस मसान्तसम्म कर दाखिला गरेमा छुट दिइने छ । त्यसका लागि पाँच लाखसम्म पूँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी वा संस्था हुनुपर्छ । उनीहरुलाई जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्नेहरुलाई २५ प्रतिशत छुट दिइने जनाइएको छ । 

त्यस्तै, महानगरपालिकाका स्थायी बासिन्दाको हकमा ५० प्रतिशत छुट दिने विभागले जनाएको छ ।
 

टिप्पणीहरू