सिंगापुरमा हिजो पुरुषलाई झुण्डाइयो, भोलि महिलाको पालो

सिंगापुरमा हिजो पुरुषलाई झुण्डाइयो, भोलि महिलाको पालो

विश्वकै विकसित मुलुकको दर्जामा रहेको एसियाली मुलुक सिंगापुरमा हिजो एक जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । भोलि एक महिलालाई पनि झुण्डाएर मृत्युदण्ड दिन लागिएको बताइएको छ । हिजो मारिएका ती पुरुषलाई लागुऔषध तस्करी गरेको आरोप प्रमाणित भएको अधिकारीहरुको भनाई छ । 

भोलि मृत्युदण्ड दिन लागिएकी महिलालाई सिंगापुरको इतिहासमा पछिल्लो १९ वर्षमा पहिलो पटक झुण्डाउन लागिएको हो । हिजो सिंगापुरको चाँगी जेलमा ५६ वर्षे अजिज हुसेनलाई मृत्युदण्ड दिइएको थियो । सिंगापुर नागरिक अजिजले ५० ग्राम हिरोइन बोकेको प्रमाण फेला परेको थियो । 

भोलि झुण्डाउन लागिएकी महिला ४५ वर्षे सरिदेवी जमानी हुन् । उनीमाथि पनि ३० ग्राम हिरोइन पाँच वर्षअघि ओसारपसार गरेको आरोप प्रमाणित भएको बताइएको छ । त्यसअघि सन् २००४ मा ३६ वर्षीया हेयर डेस्रर येन मी वेनलाई पनि लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मृत्युदण्ड दिइएको थियो ।

सिंगापुरले कोरोना महामारीमा मृत्युदण्डलाई रोकेको थियो । पछिल्लो सात महिनामा भोलि दिन लागिएको मृत्युदण्ड १५ र्औं हो । सिङ्गापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राखेपछि विश्वभर आलोचना भएको छ । विशेषगरी एम्नेस्टी इन्टरनेशनलले यसको विरोध गर्दै आएको छ ।

टिप्पणीहरू