आवारा, जसले दियो विदेशीलाई अपार आनन्द

आवारा, जसले दियो विदेशीलाई अपार आनन्द

आवारा हुँ
या गर्दिश में हुँ आसमानका तारा हुँ

घर–बार नहीं, संसार नहीं
मुझसे किसीको प्यार नहीं
उस पार किसीसे मिलनेका इकरार नहीं
मुझसे किसी को प्यार नहीं
सुनसान नगर अनजान डगरका प्यारा हुँ
आबाद नहीं, बर्बाद सही
गाता हुँ खुशीके गीत मगर
जख्मोंसे भरा सीना है मेरा
हंसती है मगर यह मस्त नजर
दुनियाँ में तेरे तीर का
या तकदिर का मारा हुँ
आवारा हुँ !

यो बहुचर्चित गीत हिन्दी चलचित्र ‘आवारा’ को हो । सन् १९५१ मा प्रदर्शित चलचित्र हिन्दी जगतका ‘शोम्यान’ राजकपुर निर्देशित तेश्रो चलचित्र हो । ११ वर्षको उमेरमै ‘इन्कलाब’ मार्फत चलचित्र जगतमा पाइला टेकेका उनीद्वारा निर्देशित पहिलो चलचित्र सन् १९४८ मा प्रदर्शित ‘आग’ हो भने नायक बनेको चलचित्र थियो– ‘नीलकमल’ (सन् १९४७) । उनको पहिलो चलचित्र ‘इन्कलाब’ का नायक थिए, पिता पृथ्वीराज कपुर । चलचित्र ‘नीलकमल’ मा उनकी नायिका थिइन्– सर्वाधिक सुन्दर मधुबाला । बहुचर्चित फिल्म ‘आवारा’ निर्देशन गर्दा उनी मात्र २४ वर्षका थिए, तत्कालीन अवस्थामा सबैभन्दा कम उमेरका । आर.के. फिल्म्स स्थापना गरी चलचित्र निर्माणको काम थालेका उनको वास्तविक नाउँ सृष्टीनाथ कपुर हो, जो भारतीय चार्ली चैपलिनको रुपमा पनि प्रख्यात छन् ।

सन् १९५१ मा प्रदर्शित चलचित्र ‘आवारा’ हिन्दी, उर्दू र अंग्रेजी भाषामा उपन्यास लेख्ने चर्चित पत्रकार ख्वाजाअहमद अब्बासको कथामा आधारित छ । उनले ४६ वटा चलचित्रको कथा, पटकथा लेखन, निर्देशन, निर्माण गरेका छन् । डा. कोटनिसको अमर कहानी, श्री ४२०, जागते रहो, सात हिन्दुस्तानी, मेरा नाम जोकर, बबी, दि नक्स्लाइट जस्ता राम्रा चलचित्रको कथा लेखेका छन् । टाइम पत्रिकाले ‘आवारा’ लाई विश्वमा अहिलेसम्म बनेका १० सर्वश्रेष्ठ चलचित्रमध्येमा राखेको थियो । यो चलचित्र प्रदर्शनमा आएलगत्तै रातारात दक्षिण एशिया, सोभियत संघ, बुल्गेरियालगायत पूर्वी युरोपेली मुलुक, पूर्वी एशिया, अफ्रिका, मध्यपूर्व र मध्य अमेरिकामा खैलबैला मच्चियो । खासगरी शैलेन्द्रद्वारा लिखित र मुकेशले गाएको माथि उल्लेखित ‘आवारा हुँ’ गीत धेरै दर्शकले गुन्गुनाउन र घरघरमा बज्न थाल्यो । चीन, टर्की, अफगानिस्तानमा समेत । चलचित्र प्रदर्शन भयो भने सोभियत संघ र चीनमा त करोडौंको टिकट बिक्री भयो ।

स्वतन्त्रतापछि भारतले रुससित असल सम्बन्ध कायम गर्ने रणनीति अख्तियार ग¥यो । बदलामा सोभियत संघले पनि ‘आवारा’ चलचित्र १५ वटा गणतन्त्रका भाषामा डब गर्न लगाएर सबै हलहरुमा प्रदर्शन गरायो । सन् १९५४ मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु रुस जाँदा प्रधानमन्त्री निकोलाई बुल्गानिनले ‘आवारा हुँ’ गीत गाएर नेहरुको सम्मान गरे । राजकपुरको प्रशिद्धिलाई सोभियत संघमा सन् १९५५ मा प्रदर्शित अर्को फिल्म ‘श्री ४२०’ ले झन् उचाइमा पु¥यायो । यसै सिलसिलामा राजकपुर रुस जाँदा जहाँ पुग्थे, सबैले सोही गीत गाउन अनुरोध गर्थे । उनको ख्याति सोभियत संघमा नेहरुको भन्दा बढी थियो । उनलाई त्यहाँ बिनाभिसा प्रवेश गराइएको थियो । सन् १९५० को दशक एकहदसम्म ‘हिन्दी रुसी भाइभाइ’ को युग थियो । रुस विश्व जनमतलाई वाम्पन्थी बनाउन चाहन्थ्यो । रुसीहरुले फिल्म आवारामा राजकपुरद्वारा अभिनित गरिब पात्रको कारण उनलाई पनि वामपन्थी नै देख्न पुगेका थिए । तिनले श्री ४२० पछि राजकपुरलाई झन् बढी मन पराउनुको अर्को कारण थियो– उक्त चलचित्रको गीत ‘मेरा जुता है जापानी, ये पतलून इंग्लिस्तानी, सरपे लाल टोपी रूसी, फिर भी दिल है हिन्दुस्तानी ।’ दोश्रो विश्वयुद्धको शत्रु जापानलाई खुट्टा मुनीको जुत्ता र रुसी टोपीलाई शिरमा राखेकाले रुसीहरु दंग थिए । यो गीतका रचनाकार शैलेन्द्र भए पनि चलचित्रमा गीत गाउने त राजकपुर नै थिए ।

चर्चित फिल्म निर्माता एस. चोपडाले एउटा अन्तर्वार्तामा भनेका छन् ‘हामी सन् १९७६ को फिल्मी महोत्सवमा भाग लिन तास्कन्द पुगेका थियौं । मैले त्यस्तो थुप्रै समारोहमा भाग लिएको छु तर विदेशी भूमिमा भारतीय फिल्म निर्मातालाई राजा–महाराजालाई जस्तो व्यवहार मात्र राजकपुरलाई गरिएको देखें । प्रतिनिधिमण्डलमा हामी ४८ जना थियौं र सबैको लागि एउटा बसको व्यवस्था थियो तर उनका लागि छुट्टै गाडी र दोभाषे दिइयो । तासकन्दबाट समरकन्द जाँदा पनि हामी सबैको निम्ति एउटा डिब्बा र उनका लागि एउटा छुट्टै सिंगै डिब्बा थियो । जब हामी समरकन्द पुग्यौं, पूरा शहर उनको स्वागतको लागि भेला भएको थियो, हामी त को हो, को हो !’ छोरा ऋषिकपुरका अनुसार राजकपुर मस्को जाँदा जब उनी अध्यागमनबाट बाहिर निस्केर ट्याक्सी पर्खंदै थिए, त्यतिञ्जेलसम्ममा मस्को आइपुगेको हल्ला सर्वत्र फैलिसकेको थियो । जब उनी बसे तर ट्याक्सी गुडेन । बरु माथिमाथि चढ्न थाल्यो । उनले के भएको भनेर हेर्दा बल्ल चाल पाए कि उनी चढेको ट्याक्सी त सबैले काँधमा उचालेर अघि बढ्दै रहेछन् । सोभियत संघमा सन् १९५४ मा उक्त चलचित्र देखाइयो । राजधानी मस्को र लेनिनग्रादका हलहरुमा देखाइएको चलचित्र हेर्न चार दिनभित्र १५ लाख दर्शकले टिकट काटे । चलचित्र वर्षभरि चल्यो । लगभग ६ करोड ४० लाखले चलचित्र हेरे । कुनै चलचित्र यति धेरै मान्छेले हेरेको सोभियत संघमा यो नै पहिलो थियो । आवाराले कायम गरेको यो रेकर्ड सन् १९६२ मा मात्र तोडियो, वैज्ञानिक कथामा बनेको रुसी चलचित्र ‘एम्फिबी अन म्यान’ मार्फत ।

रुसी चलचित्रको इतिहासमा आजपर्यन्त ‘आवारा’ सर्वाधिक मन पराइएको तेश्रो चलचित्र हो । स्मरणीय छ, रुसमा उक्त चलचित्रले २ करोड ९० लाख रुबल आम्दानी गरेको थियो । फेरि उनै राजकपुरले मेरा नाम जोकर बनाए । त्यसमा फेरी उनै राजकपुरको अभिनय प्रसिद्ध रुसी सर्कस कलाकार ओलेग पोपोभको नक्कल थियो ।

चीनमा सन् १९५५ मा ‘आवारा’ प्रदर्शन हुँदा पहिलो सातामै ४० लाख टिकट बिक्री भयो । सन् १९६१ र १९७८ मा फेरि देखाइयो । जम्माजम्मी १ करोडले फिल्म हेरे, २६ लाख ७० हजार युआनको कारोबार भयो । भनिन्छ, उक्त चलचित्रको ‘आवारा हुँ’ गीत चिनियाँहरूले यति मन पराए कि गीतलाई आफ्नै भाषामा अनुवाद गरी गाए । यहाँसम्म कि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको चीन भ्रमणलगत्तै सन् १९५६ मा चाउ एनलाई भारत निस्के । शुरुका दिनमा नेहरु र चाउको मित्रता घनिष्ठ थियो । नयाँ दिल्लीमा आयोजित एउटा रात्रीभोजमा चाउले हाँसेर सोही गीतको पंक्ति सुनाएको इतिहासकारहरु बताउँछन् । उक्त गीतले केही समयका लागि चीन र भारतको सम्बन्ध प्रगाढ तुल्याउन मद्दतसमेत गरेको थियो । विशेषतः भागेर गएका तिब्बती धार्मिक नेता दलाई लामालाई भारतले शरण दिएपछि मात्र दुई देशबीचको सम्बन्धमा कटुता उत्पन्न भएको हो । यो कटुता बढ्दै गएर सन् १९६२ मा दुवै देशबीच युद्धसमेत हुन पुग्यो । दैनिक भास्करका अनुसार सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा अहमदावादको साबरमती रिभरफ्रन्टमा आयोजित विशेष भोज कार्यक्रममा सिकी पत्नी फेङ लियुआनले ‘आवारा हुँ’ गीत गाएर सबैलाई मनोरञ्जन दिएकी थिइन् । फेङ लोकगायिका पनि हुन् ।

एशिया र युरोप दुवै महादेशमा पर्ने एउटै मुलुक हो– टर्की । तुर्की भाषामा ‘आवारा’को संस्करण बन्यो र सन् १९५५ को फेब्रुअरी १५ मा रिलिजसमेत भयो  ‘आभारे’को नाउँबाट । उक्त फिल्मले पनि पहिलो हप्तामै १ लाख दर्शक पायो । हिन्दी फिल्ममा राजकपुरको नाउँ राज थियो र नायिका नरगिसको नाउँ रिता । तुर्की ‘आभारे’ मा राज बने रासी भने रिता बनिन् सेल्मा । रासी अभिनेता सादरी अलिसेक र सेल्मा बनेकी थिइन् अज्दा पेक्कन । दुबै टर्कीका नामी कलाकार हुन् । 

राजकपुरकी छोरी ऋतु नन्दा भन्छिन्, ‘सन् १९९६ मा रणधीर कपुर र म चीन गएका थियौं । हामी जहाँ जान्थ्यौं, त्यहाँका जनता हामीलाई देखेर ‘आवारा हुँ’ गीत गाउन थाल्थे । जबकि उनीहरुलाई थाहा नै थिएन हामी राजकपुरका सन्तान हौं, उनीहरुलाई त यतिमात्र थाहा थियो कि हामी भारतीय हौँ ।’ राजकपुरको सन् १९८८ मै निधन भइसकेको छ ।
 

टिप्पणीहरू