चालकले बस राेकेर यात्रु बोलाउन थालेपछि दुर्घटना, छ जना घाइते

चालकले बस राेकेर यात्रु बोलाउन थालेपछि दुर्घटना, छ जना घाइते

लमजुङको बेसीशहरमा रोकिराखेको बस एक्कासी गुडेपछि भएको दुर्घटनामा छ जना यात्रु घाइते भएका छन् । चालकले बसलाई स्टार्ट अवस्थामा रोकेर यात्रु बोलाउँदै गर्दा उक्त दुर्घटना भएको हो ।

स्टार्ट अवस्थामा रहेको ना ५ ख ४०८१ नम्बरको बस रोकेर चालकले यात्रु बोलाउन थालेका थिए । त्यत्तिकैमा ३० मीटरसम्म गुडेको बस धन्न पाखुरीको रुखमा रोकिएकाले ठूलो दुर्घटनाबाट जोगिएको हो । तर छ जना यात्रु घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

 खोटाङ घरभई हाल तनहुँको बाइसजाँगर बस्ने ३० वर्षे बस चालक हेमन्त तामाङलाई जिल्ला प्रहरी कार्यालय लमजुङले नियन्त्रणमा लिएको छ । डुम्रे–बेसीशहर चल्ने उक्त बस आफैँ गुडेर ३० मिटर पर सडक नजिकैको पाखुरीको रुखमा अड्किएको चालकले बताएका छन् ।

दुर्घटनामा राइनास नपा–९, कुवापानी घर भई हाल सुनपा–९, भोटेवडार बस्ने २२ वर्षीय मिस्मा गुरुङ भने गम्भीर घाइते भएकी छन् । बेसीशहरमा जापानी भाषा कक्षाबाट घर फर्कने क्रममा सो बसमा चढेकी मिस्मा रोकिराखेको बस अचानक गुड्न थालेपछि अत्तालिएर बसबाट हामफाल्दा टाउको र घाँटीमा गहिरो चोट लागेको हो ।

उनलाई जिल्ला अस्पताल लमजुङमा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज रिफर गरिएको छ । अन्यको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको जिप्रका लमजुङका सूचना अधिकृत प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिएका छन् । घटना हिजो दिउँसो ३ बजेको समयमा भएको हो । 

अञ्जनकुमार

टिप्पणीहरू