मन्त्री कराउने, सचिव बाटैमा हराउने

मन्त्री कराउने, सचिव बाटैमा हराउने

मन्त्रिपरिषद्को श्रावण ३ गतेको बैठकले ११ जना सचिवको सरुवा र २ को पदस्थापन गरेको छ । यो सरुवामा मन्त्रीहरूले प्रधानमन्त्रीलाई हारगुहार गरेको र पूर्व मुख्यसचिव शंकरदास बैरागी हावी भएको आवाज निजामतीभित्रैबाट सुनिन्छ । 

सरुवा भएकामा गोकर्णमणि दुवाडी, दामोदर रेग्मी, सुरेश अधिकारी, भरतराज सुवेदी, तोयाम राय, मधुसूदन बुर्लाकोटी, सूर्यमणि गौतम, रामकृष्ण सुवेदी, डा. गोपी खनाल, मुकुन्द निरौला र रविलाल पन्थलगायत छन् । केपी ओलीको पेलानमा परेर ६ पटकमा बल्लतल्ल सचिव बनेका गोकर्णमणि दुवाडीलाई मधेश प्रदेशको प्रमुख सचिवमा खटाइएको थियो, त्यहाँबाट निर्वाचन आयोगमा गएको पनि दुई वर्ष हुनै लाग्यो । मन्त्रालयको मुखै नहेरी घर जालान्जस्तो स्थिति थियो । अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएको छ । शंकरदास बैरागी मुख्यसचिव हुँदानै सरुवा हुन लागेको थियो । तर, उनले राजीनामा दिएपछि रोकिएको सरुवा बल्ल भएर त्यहाँका सचिव दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयतिर ठेलिएको छ । 

निर्वाचन आयोगमा युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यमणि गौतमलाई पठाइएको छ । गौतमले यसअघि सामान्य प्रशासन चलाइसकेका छन्, महालेखामा पनि बसेका हुन् । युवा, खेलकुद सचिव रहेका उनलाई पनि सारिदिनुपर्‍यो​​​​​​  भनेर मन्त्रीले प्रधानमन्त्री गुहारेपछि निर्वाचन आयोगमा पठाइएको बताइन्छ । तोयम रायलाई समेत उपराष्ट्रपतिकहाँ अप्ठ्यारो भएको थियो । अहिले रामप्रसाद थपलिया ५८ वर्षे उमेर हद लागेर घर गएपछि रिक्त रहेको तथ्यांक कार्यालयमा हाकिम बनाइएका छन् ।

बागमती प्रदेशका प्रमुख सचिव निरौलाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा पाएका छन् उनलाई उद्योगमा ल्याउन मन्त्री रमेश रिजाल नै लागेका थिए । सचिवमा बढुवा भएपछि निर्वाचन आयोगदेखि सामान्य प्रशासन ताकेर बसेका निरौला ललिता निवास जग्गा प्रकरणसँग जोडिएका छन् । उनी बाग्मतीबाट सिंहदरबारमा उक्लँदा घनश्याम उपाध्याय हेटौंडा र लक्ष्मी गण्डकी प्रदेशको प्रमुख सचिवमा पुगेकी छन् । बढुवा भएका सचिवहरूलाई पोष्टिङ गर्न तीन साता लागेपछि नयाँ मुख्यसचिवको निरिहता भन्दैछन्, कतिपय सचिवहरू । अब भने लक्ष्मीसहित निजामतीमा महिला सचिवको संख्या ८ पुगेको छ । 

गण्डकीका प्रमुख सचिव पन्थलाई युवा तथा खेलकुद मन्त्रालयमा तानिँदा कर्णाली प्रदेशका प्रमुख सचिव डा. खनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएका छन् । उनी एक महिनापछि ५८ वर्षे उमेरहद लागेर घर जाँदै छन् । गोपीलाई सिंहदरबारमा तानिएसँगै अहिले तीन वटा प्रदेश प्रमुख सचिवविहीन भएका छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आठ सचिवलाई थुपारिएको छ ।यस्तै, शंकर पोखरेलनिकट मानिएका भरत सुवेदीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ भने त्यहाँका सचिव सुरेश अधिकारीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ । शिक्षा मन्त्रालयका रामकृष्ण सुवेदी वित्त आयोगतिर ठेलिएका छन् । माओवादीले चलाएको पर्यटनबाट सुरेश अधिकारी जसपाका अशोक राई नेतृत्वको शिक्षामा पुगेका हुन् ।

सचिव बनेर मन्त्रालयको अनुहार देख्न नपाएका मधुसूदन बुर्लाकोटीलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ ।पूर्व मुख्यसचिव शंकरदास बैरागीले खरिद अनुगमन कार्यालयको काममा सहयोग नगरेको गुनासो सामाजिक सञ्जालमार्फत् पोखेकै कारण मधुसूदनलाई उपराष्ट्रपति कार्यालय पु¥याइएको बताइन्छ । यसबीच, साँढेको जुधाइ बाच्छाको मिचाइ छ, सिंहदरबारतिर । पूर्व र बहालवाला मन्त्रीको चेपुवामा पर्दै छन् वन तथा वातावरण मन्त्रालयका कर्मचारी । राजकिशोर र प्रदीप यादवदेखि दीपक कार्कीसम्मलाई जिल्लाराम खुवाउँदै मन्त्री बनेका बैंकर वीरेन्द्र महतोले पूर्वमन्त्री प्रदीप यादवको पालामा नियुक्त भएका कर्मचारीलाई धमाधम पेल्न थालेका छन् । त्यसकै उदाहरण हुन्, कार्यक्रमको सिलसिलामा जापान पुगेका राष्ट्रिय वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका महानिर्देशक डा. महेश्वर ढकाल, उनी फर्किंदा उपमहानिर्देशकसमेत जान नमान्ने चुरे उत्थानशील आयोजनातिर खेदिएको पत्र तयार थियो । वनका वरिष्ठ सहसचिव ढकाललाई डा. राजेन्द्र केसी, बद्रि ढुंगानालगायत जुनियर कर्मचारीसमेत जान नमानेको ठाउँमा लखेटिएपछि अस्ति सोमबार दिनभर मन्त्रालयमा लफडै चल्यो । उनले मन्त्री र सचिव रेवतीरमण पौडेलसँग सवाल जवाफ गरे, आफूलाई खेदिनुपर्नाको कारण खोजे । जुनियर कर्मचारी बस्ने ठाउँमा आफू नजाने, खटाइए राजीनामा दिने धम्कीपछि मन्त्री र सचिव गले र सरुवा सूची संशोधन भएको छ । 

प्रदीप मन्त्री हुँदा विभागको हाकिम बनाएर ल्याइएकाहरूलाई यसरी लखेटिएको हो । वन तथा भूसंरक्षण विभागको महानिर्देशक बनाएर शिवकुमार वाग्लेलाई पठाइँदा त्यहाँँका निमित्त डिजी नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ । यसअघि महेश ढकाल हाकिम रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका सदस्य सचिव डा.सिन्धुप्रसाद ढुंगानालाई खटाइएको छ । बालुवाटार दाहिना हुँदा उनले सो निकायको जिम्मेवारी पाएका हुन् भन्नेहरू पनि छन् । यस्तै चुरे उत्थानशील आयोजनाका प्रमुख बद्रिराज ढुंङ्गानालाई तानिँदा मन्त्रालयबाट मेघनाथ काफ्लेलाई चुरे–तराई मधेस संरक्षण विकास समितिको सदस्य–सचिव बनाइएको छ भने रेड कार्यान्वयन केन्द्रका प्रमुख डा. रामचन्द्र कँडेल मन्त्रालयमा ल्याइएका छन् । उनी निकुञ्ज विभाग पाइने आशामा थिए । यसअघि प्रदीप यादव मन्त्री हुँदा उनलाई निकुञ्जबाट रेडमा पठाइएको थियो ।

मन्त्री महतोले बैंकका कर्मचारीलाई हप्काएझैं सचिव, महाशाखा प्रमुख र विभागीय प्रमुखलाई हकार्न थालेको भनी कर्मचारीहरूले दुखेसो पोखेका छन् । अहिले मन्त्रीको स्वकीयमा शाखा अधिकृत रामएकवाल दास छन् । यी तिनै अधिकृत हुन्, जसको लोकसेवा तयारी पुस्तकमा हालै आगो झोसिएको छ । दासले लेखेको गेमस्काउट, वन रक्षक, सफलताको साथी नामक पुस्तकको पृष्ठ नम्बर १४३ मा महिलाबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएपछि उनको पुस्तकमा आगो सल्काइएको हो । यस्तै उनको स्वकीय सचिवमा जसपाका कार्यकर्ताको सट्टा जनमत पार्टीका कार्यकर्तालाई नियुक्ति दिइएको भनी पार्टी कार्यालयमा हल्ला छ । 

टिप्पणीहरू