वर्षामा बाढी पसेर फौजको बिजोग

वर्षामा बाढी पसेर फौजको बिजोग

बाढी–पहिरो, भूकम्पजस्ता प्राकृतिक विपद् पीडितको उद्धारमा सधैँ अगाडि देखिने सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट डण्डा रूपन्देहीमा कार्यरत कर्मचारी भने वर्षामासको बेला आफैंलाई कसरी जोगाउने भन्दै पिरोलिएका छन् । सुनौली भन्सार नजिकै खोलाको किनारमा बनाइएको बिओपी भवन निर्माण पुरा भएको तीन वर्ष बित्दा पनि बस्न लायक नभएपछि उनीहरू इन्तु न चिन्तु भएका छन् ।

प्रत्येक वर्षामासमा भेल कार्यालय भवनभित्रै पस्ने भएपछि सीमा सुरक्षामा खटिएका प्रहरी भाडाकै भवनमा बसेका छन् । सो भवनको निर्माण शैलेन्द्र खनाल आइजिपी हुँदा एसपी तेज पोखरेलले गरेका थिए । करिब ७० लाखको लागतमा बनेको भवन ३५ जना बस्ने क्षमताको रहेको छ । भवन प्रयोगमा नआएपछि भन्सार र बोर्डरसम्बन्धी समस्याको छानबिन र अध्ययन गर्न डिआइजी कमल गिरीको नेतृत्वमा हेडक्वार्टरबाट एक टोली खटिएको थियो । भर्खरै सो टोलीले प्रतिवेदन बुझाएको छ । तल्लो सतहमा भवन निर्माण गरिएको र जमिनको सतह नपुरिएका कारण यस्तो समस्या आएको बताइन्छ । प्रतिवेदनमा असार, साउन र भदौ दोस्रो हप्तासम्म नवनिर्मित भवनमा बस्न नसकिने निश्कर्ष निकालिएको छ । 

प्रतिवेदनमा गलत स्थानमा गलत तवरले बनाइएको सो भवन निर्माणका लागि दोषीहरू पत्ता लगाएर कारबाही गर्नुपर्ने सुझाव दिइएको छ । दोषी कसरी, कसलाई बनाउने भन्ने विषयमा भने प्रतिवेदन मौन छ ।

कमाण्ड टु कमाण्डको नीति सशस्त्रमा तमाम

धेरै अफिसरको भीडमा फुत्तफुत्त एउटा कमाण्ड क्षेत्र छोडेर अर्को ठाउँ जाने भाग्यमानी अफिसर कमै हुन्छन् । त्यस्तै भाग्यमानी अफिसरका रूपमा सशस्त्र प्रहरीका डिएसपी दिनेश बस्नेत दरिएका छन् । उनी यसअघि सिन्धुलीमा गुल्मपति थिए । यसबीच उदयपुरको गाईघाट सरुवा भए पनि पाइला नटेकी नयाँ प्रस्तावित सीमा सुरक्षा गुल्मको प्रमुखका रुपमा बारा जाने पक्का भएको छ ।

सशस्त्रमा सुगम ठाउँ बस्नेलाई दुर्गम, दुर्गम ठाउँमा बस्नेलाई सुगममा सार्ने प्रचलन रहेको छ । बस्नेतले बारामा गुल्मपति हुँदा सिम्रौनगढ, पिपरपाती, बेलडाँगीलगायतका चार बोर्डर आउट पोष्ट (बिओपी) को नेतृत्व गर्नेछन् । 

सशस्त्रमा १७५ अधिकृत दरबन्दी थप 

सेनाको दरबन्दी कटौती हुनुपर्ने माग दाबी केही सांसदले गरेका बेला सरकारले भने सशस्त्र इन्स्पेक्टरदेखि एसएसपीसम्म गरी १७५ जनाको दरबन्दी थप गरेको छ । जसमध्ये ११ जना एसएसपीको दरबन्दी थप भई ३६ जना हुने भएका छन् । त्यसैगरी एसपी ५५ जना, डिएसपी ११ जनाको दरबन्दी थप भई किताबखानामा अस्तिदेखि जनिएको छ ।  

 

टिप्पणीहरू