जनआस्थाको समाचार प्रभाव : गृहमन्त्रीद्वारा छानबिन गर्न निर्देशन

जनआस्थाको समाचार प्रभाव : गृहमन्त्रीद्वारा छानबिन गर्न निर्देशन

-सन्तोष बराइली

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली मिटरब्याजपीडित सञ्जीवकुमार साहमाथि तत्काल छानबिन गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।

हिजो मधेश भ्रमणका क्रममा जनकपुर पुगेपछि मन्त्री श्रेष्ठले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र प्रहरी प्रमुख एसपी टेकुनन्द ईवा लिम्बुलाई साहमाथि तत्काल छानबिन गर्न निर्देशन दिनुभएको हो ।

श्रीमती बबिताकुमारी साहको नाममा धनगढीमाई, निमचोकमा मोर्डन नेपाल कृषि फर्म खोलेर सञ्जीवले चिनजानका व्यक्ति र आफन्तहरूसँग लाखौँ ऋण लिएपछि अनेक बहानामा नतिर्ने योजना बनाउँदै आएका थिए । ऋण दिएका कतिपयलाई उनले मिटरब्याजी करार गर्दै पक्राउ समेत गराएको अभियोगमा अदालतमा मुद्दा अघि बढेको बताइन्छ । 

कृषि फर्मकै नाममा नेपाल एसबिआई बैंकबाट सञ्जीवले १५ करोड रूपैयाँ सहुलियत कर्जा लिइसकेका छन् । सोही बैकंबाट पुनः आठ करोड निकाल्ने तयारी गरिरहेका उनलाई आन्दोलनरत मिटरब्याज विरूद्व संघर्ष समिति, नेपालले नक्कली मिटरब्याज पीडितको संज्ञा दिँदै प्रेस विज्ञप्ति नै जारी गरेको थियो । 

लिएको ऋण तिर्न सबैतिरबाट ताकेता आएपछि सञ्जीवले गत साता गृहसचिव दिनेश भटराईसमक्ष सपरिवार आत्महत्या गर्ने धम्की नै दिएका थिए । उनको धम्कीयुक्त निवेदन दर्तापछि गृहले जिल्ला प्रशासन कार्यालय, सिरहालाई शान्तिसुरक्षा उपलब्ध गराइदिन पत्र नै लेखेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्दा ईवा लिम्बुले गृहमन्त्री श्रेष्ठले सञ्जीवमाथि छानबिन गरी कानुनी कारबाहीम ल्याउन निर्देशन दिएको बताए । ‘उनीविरूद्व बैंकिङ कसुुर सम्बन्धी उजुरी परेको छ । त्यसउपर छानबिन गरिरहेका छौं । उसलाई छिट्टै कानुनी दायरामा ल्याउनेछौँ ।’

टिप्पणीहरू