रुकुम पश्चिममा सुख्खा पहिरो,दुई जनाको गयो ज्यान
आज दिउँसो रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को बाँसथलामा पहिरो खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
दिउँसो पौने तीन बजे घारीखोला भन्दा माथिको भिरालो ठाउँमा घाँस काट्ने क्रममा पहिरोसंगै खस्दा स्थानीय दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार मृत्यु हुनेमा बाफिकोट गाउँपालिका वडा नम्बर ७ का ४४ वर्षीय कालीबहादुर खड्का र सोही स्थानकी ४५ वर्षीया धनमाया खत्री छन् । दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर सोही स्थानकी ४२ वर्षीया बलकुमारी खत्री घाइते भएको र उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै गरेको जनाईएको छ ।
घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसंगै खसेको प्रहरीले जनाएको छ । तीनै जना करिब ५ सय मीटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू