बिमार राष्ट्रपति साथी सम्झेर ब्याकुल

बिमार राष्ट्रपति साथी सम्झेर ब्याकुल

‘विपिन, शिव, दमन– यी सबैलाई समेटेर अहिलेका युवाहरूसहित अगाडि बढ्नुपर्छ ।’

पेटको पुरानो समस्याले बेलाबखत थला परिरहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न बिहीबार साँझ शीतलनिवास पुग्नुभएका कांग्रेस नेता अर्जुननरसिंह केसीसँग उहाँले त्यस्तो कुरा भन्नुभयोे । डेढ घण्टासम्म चलेको भेटमा राष्ट्रपतिले आफ्ना पुराना सहकर्मीलाई सम्झिँदै तिनीहरूका हालखबर पनि सोध्नुभएको थियो ।

विपिन कोइराला, शिवबहादुर खड्का, दमननाथ ढुंगानाजस्ता राजनीतिज्ञलाई भूमिकाविहीन बनाउन नहुने उहाँको आशय थियो । सोध्नुभयो, ‘म यता भइसकेपछि पार्टीमा तपाईं नै सिनियर हुनुहुन्छ । शेरबहादुरजीसँग केही कुरा भएको छैन ?’ अर्जुनले ‘छैन’ भन्नुभयो ।

‘शेरबहादुरसँग बालसखाको सम्बन्ध हो, अहिले त्यति धेरै कुराकानी हुन पाएको छैन’, अर्जुनले राष्ट्रपतिलाई भन्नुभयो । राष्ट्रपति भने युवाहरूलाई समेटेर पार्टीलाई नयाँ गतिका साथ अगाडि बढाउनुपर्ने धारणामा दृढ देखिनुहुन्थ्यो । 

मुलुकको राजनीतिक परिस्थिति अत्यन्तै विषम रहेको मध्यनजर गर्दै सबैको बीचमा सहमति खोज्नुपर्ने कुरामा बिमार राष्ट्रपति चिन्तित हुनुहुन्छ । ‘राष्ट्रिय परिस्थितिलाई सहज बनाउन सबै दलका बीचमा सहमति खोज्नुपर्छ’, उहाँले भन्नुभयो, ‘म संवैधानिक राष्ट्रपतिकै रूपमा काम गर्छु, सबैले आ–आफ्नो भूमिकालाई देशको हितमा प्रयोग गर्नुपर्छ ।’
 

टिप्पणीहरू