उपराष्ट्रपति र प्रधानमन्त्री क्रमशः चीनतिर

उपराष्ट्रपति र प्रधानमन्त्री क्रमशः चीनतिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ महिनाको अन्तिमतिर चीन जाने तयारी शुरु भएको छ । भदौ २९ देखि असोज ५ गतेसम्म हुनेगरी चीन भ्रमणको तयारी गरिएको छ । 

प्रधानमन्त्री असोज पहिलो साता अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम पनि बनेको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

यता,उपराष्ट्रपति रामसहायप्रसाद यादव साउन महिनाको अन्तिम साता चीनको खुनमिङ जाँदै हुनुहुन्छ । उहाँले सातौं चीन–दक्षिण एसिया एक्स्पो एवम् २७ औं खुनमिङ निर्यात तथा आयात मेलामा विशेष अतिथिको रुपमा भाग लिनु हुनेछ ।

कोरोना महामारीका कारण तीन वर्षदेखि रोकिएको उक्त एक्स्पो अगष्ट १६ देखि आयोजना गर्न लागिएको  छ । दक्षिण एशियाको मोटामोटी केन्द्रमा रहेको युन्नान प्रान्तको खुनमिङमा हुुने उक्त कार्यक्रममा यस पटक म्यानमार र नेपाललाई विशेष अतिथि बनाईंदै छ ।

मेलामा ९६ मध्ये वटा  स्टल नेपालको निम्ति छुट्टयाइएको छ । एक्स्पोको निम्ति ‘साझा विकासमा ऐक्यबद्धता र सहयोग’ नारा तय गरिएको छ । उक्त मेला चीनको वाणिज्य मन्त्रालय,युन्नान प्रान्तीय सरकार,सिचुआन प्रान्तीय सरकार, चोङछिङ नगरपालिका, कुइचो प्रान्तीय सरकार, क्वाङ्सी चुवाङ स्वायत्त प्रान्तीय सरकार,तिब्बत स्वायत्त प्रदेश सरकार र छन्तु नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको हो ।

टिप्पणीहरू