कमल थापाले राजेन्द्र लिङ्ग्देनलाई सडकमा बोलाए,मार्सीलाई पनि मिसिन आह्वान
पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई राप्रपाको अध्यक्ष हुन नदिएको आरोप लगाएर राप्रपा नेपाल ब्युँताएका कमल थापाले एजेण्डामा एक मत भए राजेन्द्र लिङ्ग्देनको नेतृत्व स्वीकार गर्ने बताएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नामै लिएर उनले सत्ताको फोहाेरी खेलमा नलागी आन्दोलनका लागि सडकमा आए सहकार्य हुने र त्यतिबेला नेतृत्व स्वीकार्न आफूलाई कुनै समस्या नहुने बताएका हुन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा कुनै समस्या नहुने प्रष्ट पारे ।
थापाले भने,‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन । राप्रपाले सडकमा आउने हिम्मत गरोस् । हामी सँगै आन्दोलनमा जान तयार छौँ । नेतृत्व समस्याको विषय हुँदैन ।’
थापाले केशरबहादुर बिष्ट,बैंकको 'ऋणमोचन अभियान' चलाइरहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं 'मार्सी' ,किशोरी महतोलगायत विभिन्न समूहमा रहेका राजावादी शक्तिहरुलाई पनि एकताबद्ध भएर आन्दोलनको आँधी बेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरेका छन् ।
‘अहिले हामीलाई आन्दोलन चाहिएको छ, निकास चाहिएको छ, विकास चाहिएको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो,’थापाले भने, ‘अहिले हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने र पद प्रतिष्ठा गौण विषय हाे ।’
टिप्पणीहरू