ओलीलाई भन्न नसक्ने, तलकालाई गुनासो सुनाउने

ओलीलाई भन्न नसक्ने, तलकालाई गुनासो सुनाउने
सुन्नुहोस्

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आफुभन्दा तलका नेताहरूको जिम्मेवारीमा बेला–बेला मनपरी हेरफेर गर्दा चित्त नबुझेपछि उनीहरू आफुभन्दा तलका नेताहरूसँग गन्गनाउने गरेका छन् । यसरी चित्त दुखाउनेमा पछिल्लो पटक उपमहासचिव पृथ्वीसुब्बा गुरुङ देखिएका छन् । अध्यक्ष ओलीसामु पर्दा केही भन्न नसक्नु तर तल्ला तहका नेता तथा कार्यकर्तासँग मनका बात गर्नु यस्ता नेताहरूको दिनचर्या बनेको छ । 

स्रोतका अनुसार पृथ्वीसुब्बा गुरुङ ओलीले आफुलाई संसदीय समन्वय विभागजस्तो बेकामे अड्डाको प्रमुख जिम्मेवारी दिइएकाले चित्त कुढाउँदै हिँडेका छन् । स्रोतका अनुसार एक जना उपमहासचिवलाई स्कूल विभागको जिम्मेवारी दिएपछि अर्कोलाई संगठनको जिम्मेवारी दिनुपर्ने दाबी गुरुङको थियो । गुरुङले भनेका छन्, ‘मैले संगठन बुझेको थिएँ । तर मलाई त्यसबेला प्रचार विभागको जिम्मेवारी दिए जुन विषयमा मेरो रुचि र अनुभव थिएन ।

प्रचार विभागमा राम्रै काम गरेको थिएँ । सोसँग सम्बन्धित सबै संगठनलाई चलायमान बनाएको थिएँ । अधिवेशन पनि गराएँ । जन संगठनमध्ये एक नम्बर बनाउने योजना थियो । त्यसबेला बरु मलाई गण्डकी दिएको भए सबै कुरा थाहा थियो, राम्रो हुन्थ्यो तर अहिले बेकामे विभागमा ल्याएर थन्क्याउने काम भएको छ’ भन्दै गुनासो पोख्ने गरेका छन् । करिब ३ महिनाअघि मात्रै गुरुङको ठाउँमा राजेन्द्र गौतमलाई प्रचार विभाग प्रमुख बनाइएको छ ।

त्यसो त अहिले एमालेभित्र विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङहरूको समूह विस्तारै पाखा लाग्दै गएको अवस्था छ । महासचिवमा शंकर पोखरेल आएपछि उपाध्यक्ष पौडेल अध्यक्ष ओलीको पहिलो सर्कलबाट बाहिरिएको अवस्था छ । पहिलो सर्कलमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल अनि प्रदीप ज्ञवाली छन् ।

यसै क्रममा गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य पार्टीको सक्रिय गतिविधि देखेर डराउनुभन्दा पार्टीभित्रका असल र इमान्दार मान्छे छानेर संगठनको जिम्मेवारी दिए कसैसँग डराउनुपर्ने अवस्था नआउने बताउन थालेका छन् ।
 

टिप्पणीहरू