स्वदेश फर्कन भुटानी नरेशसमक्ष बिन्ती

स्वदेश फर्कन भुटानी नरेशसमक्ष बिन्ती

भुटान पिपुल्स पार्टीले मुलुक बाहिर रहेका शरणार्थीलाई स्वदेश फर्कने वातावरण मिलाइदिन राजासँग अनुरोध गरेको छ । पार्टी अध्यक्ष बलराम पौडेलले नरेश जिग्मे खेसार नाम्ग्यालसमक्ष उक्त बिन्ती चढाएका हुन् । 

पौडेल सन् १९९० देखि झापाको बिर्तामोडस्थित शरणार्थी शिविरमा बस्दै आएका छन् । उनले राजासमक्ष साउन १४ गते बिन्तीपत्र पठाउँदै स्वदेश फर्कने वातावरण बनाइदिन आग्रह गरेका हुन् । पौडेलले हिजो पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिएका थिए ।

मुलुकभित्रको आन्तरिक राजनीतिक समस्या समाधान राष्ट्रिय सहमतिबाट मात्रै हुने उल्लेख गर्दै उनले भने, ‘मुलुकभित्र राष्ट्रियता र प्रजातन्त्र खतरामा भएकाले समाधानको निम्ति राजालाई अनुरोध गरिएको हो ।’ 

उनका अनुसार अहिले पनि भुटानका विभिन्न जेलमा दुई सयभन्दा बढी राजनीतिक बन्दी छन् । मुलुक छाड्न बाध्य बनाइएका डेढ लाख भुटानी शरणार्थीमध्ये अब झापा र मोरङका शरणार्थी शिविरमा जम्मा सात हजार जना रहेको पनि उनले बताए । उनले नेपाल सरकारलाई उक्त कार्यमा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

टिप्पणीहरू