महानगरको डोजरलाई बूढानीलकण्ठ प्रवेशमा रोक

महानगरको डोजरलाई बूढानीलकण्ठ प्रवेशमा रोक
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलको टोली डोजर लिएर कपन खोलामाथि बिछइएको स्ल्याब हटाउन पुगेपछि अवस्था तनावग्रस्त भएको छ । महानगरको वडा नम्बर ६ र ७ तथा बूढानीलकण्ठ नगरपालिकाको १० नम्बर वडामा रहेको कपन साततले, धोबीखोला जाने खहरे खोलाको निकास सुचारुका लागि पुगेको महानगर टोली र स्थानीयबीच घम्साघम्सी भएको बताइन्छ ।

बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीसहित झण्डै पाँच सय स्थानीयले ‘डोजर लगाउन पाइँदैन’ भन्दै विरोध जनाएका छन् । डोजर अगाडि बसेर उनीहरुले महानगर प्रहरीको टोलीलाई खोलो छोपिएको स्ल्याब भत्काउन रोकेका हुन् । महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली आज बिहान साढे ९ बजे दुई वटा डोजरसहित स्ल्याब भत्काउन साततले पुगेका थिए ।

डोजरसहित आएको टोलीलाई स्थानीयबासीले तत्काल बूढानीलकण्ठका जनप्रतिनिधिलाई खबर गरिदिएपछि अवस्था तनावग्रस्त भएको हो ।महानगरको टोलीले धमाधम स्ल्याब हटाउन थालेपछि वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईले आक्रोशित हुँदै काम रोक्न लगाएका थिए । हाल बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि, प्रहरी वृत्त गौशाला र स्थानीयबीच छलफल भइरहेको छ । डोजर, त्यसका चालक र महानगर प्रहरी टोली छलफलको निश्कर्ष कुरेर बसेको बताइन्छ ।

टिप्पणीहरू