ब्रेकफेल भएपछि बस पसलभित्र छिर्यो, दर्जन घाइते

ब्रेकफेल भएपछि बस पसलभित्र छिर्यो, दर्जन घाइते

सिन्धुपाल्चोकको खाडीचौरमा बसको ब्रेक फेल हुँदा सडक छेउका दुई वटा पसलमा क्षति पुगेको छ । चालसहित यात्रु, पसलका सञ्चालक गरेर झण्डै एक दर्जन घाइते भएका छन् ।

बिहान ११ बजेको समयमा चरिकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख १९३३ नम्बरको बस ब्रेक फेल हुँदा उक्त क्षति भएको हो । बस ठोक्किँदा खाडिचौरस्थित विजय कार्कीको घरमा रहेको कविता कार्कीको लुगा पसलमा झण्डै एक लाखको क्षति भएको प्रहरीको अनुमान छ । त्यस्तै नजिकैकोे शुभलक्ष्मी श्रेष्ठको कपडा पसलमा पनि ठूलै क्षति भएको बताइन्छ ।

दुर्घटनालगत्तै प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायव निरीक्षक अनित केसीको कमाण्डमा चार जनाको टोली खटेर घाईतेहरुको उद्धार गरेको हो । उनीहरुलाई स्थानीय सञ्जिवनी पोलिक्लिनिकमा उपचार गराइएको छ । 

प्राप्त विवरण अनुसार दोलखाको भीमेश्वर ९ खरिढुङ्गाकी ६५ वर्षीया मानकुमारी श्रेष्ठ, सिन्धुपाल्चाकेको थुमपाखरका ४८ वर्षे भोजबहादुर कार्की, खाडीचौरकी ३५ वर्षीया कविता कार्की, नौ किलोकी ४९ वर्षीया पार्वती भण्डारी र ६५ वर्षीया पदममाया श्रेष्ठ घाइते भएका छन् ।
त्यसैगरी नानुमाया गहतराज, ६२ वर्षकी मनकुमारी श्रेष्ठ, डाँडापाखरकी ७६ वर्षीया डोल्मा र बस चालक ४० वर्षे सन्तोष खुलाल घाइते भएका हुन् । उनीहरुको सबैको अवस्था सामान्य रहेको क्लिनिकले जनाएको छ ।

टिप्पणीहरू