पूर्व पञ्चहरूको पार्टीमा धोवी धुलाई

पूर्व पञ्चहरूको पार्टीमा धोवी धुलाई
सुन्नुहोस्

भौमान समर्थकहरू सामाजिक सञ्जालमार्फत् अरुमाथि जाइ लाग्ने गरेकै बेला आफ्नै पार्टीका नेताको बङ्गारा झार्ने ल्याकत भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सह–महामन्त्री प्रविण थोकरमा देखिएको छ । उनले गत शनिवार काठमाडौंको धुम्बाराहीस्थित एसआर पार्टी प्यालेसमा आफ्नो विरोधमा बोल्ने एक–एक जनालाई छानी छानी भकुर्न लगाएका थिए । श्रोतका अनुसार, दोलखाको एक कार्यक्रममा महामन्त्री धवलसमशेर राणा र उपाध्यक्ष रविन्द्र मिश्रले गरेको बेवास्ताबारे छलफल चलाउन आयोजित कार्यक्रममा थोकरले जंगली आक्रमण गराएका हुन् ।

केही समयअघि दोलखामा कान्ता भट्टराईले आयोजना गरेको सप्ताहव्यापी भागवत पुराण महायज्ञमा राणा र मिश्र विशेष अतिथि बनेर गएका थिए । नेताहरू आउने भनेपछि राप्रपा दोलखा जिल्ला कमिटीले जिल्ला, नगर तथा गाउँ कमिटीका पदाधिकारीलगायत १५० जना जति कार्यकर्तासँग भेटघाटको चाँजोपाँजो मिलायो । दुवै नेतालाई पार्टी कार्यालयमा केही घण्टासम्म कुरियो पनि ।

तर बीचैमा प्रविण थोकरले नेताहरू यहाँ आउँदैनन्, उही होम गरेको ठाउँमा भेट्न जाऊँ भनी प्रस्ताव राखे । उपस्थित धेरैले हामी यत्तिका धेरै मान्छे त्यहाँ कसरी जाने ? बरु नेताहरू यतै आएर हामीलाई भेट्नु पर्छ भनेर विवाद झिके । विवाद बढ्दै गएपछि जिल्ला अध्यक्ष विक्रम थापा राणा र मिश्रलाई लिन पार्टी कार्यालयबाट हिँडे । त्यसैबीच पार्टी कार्यालयमा आएका दुवै नेतालाई थोकरले कोही छैनन् यहाँ उतै, भेट्न जाम भनेर होम गरिएको ठाउँमा लगे । थोकरले दुवै नेतालाई बाटोमै अवस्थित पार्टी कार्यालय नपसी तर्काएर पुराण लगाएको ठाउँतिर लगेपछि लफडा शुरु भयो ।

नगर तथा गाउँ पालिका स्तरीय कमिटीका अध्यक्षलगायत सबैले केन्द्रीय समितिमा उजुर हालेपछि लफडा चल्दै थियो । यसैलाई मिलाउन आयोजित भेलामा थोकरका बाहुबलीले मनिषा श्रेष्ठलगायतका महिला कार्यकर्ताहरूलाई पनि घेरेर लछारपछार गरेको स्रोतको दावी छ ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र अरु नेताहरूको उपस्थिति थियो । लिङ्देन सानातिना विवादमा अल्झिन नहुने र मेलमिलाप गर्दै अघि बढ्नु पर्ने निर्देशन दिएर निस्केको केही बेरपछि प्रविण थोकरले बैठकमा आफ्नो विरोध गर्ने नेता तथा कार्यकर्ताहरूलाई भुसतिघ्रे कार्यकर्ता लगाएर पार्टी प्यालेस बाहिर भकाभक भकुर्न लगाएको बताइन्छ ।
 

टिप्पणीहरू