छात्रवृत्तिप्राप्त विद्यार्थीसँग कुनै शुल्क नलिनु : महानगरपालिका

छात्रवृत्तिप्राप्त विद्यार्थीसँग कुनै शुल्क नलिनु : महानगरपालिका

काठमाडौं महानगरपालिकाले छात्रवृत्तिप्राप्त विद्यार्थीसँग भर्ना शुल्क माग गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षण संस्थाले छात्रवृत्तिप्राप्त विद्यार्थीसँग भर्ना शुल्क मागेको सम्बन्धमा गुनासो आएको उल्लेख गर्दै महानगरपालिकाले त्यस्ता विद्यार्थीले कुनै शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ । 

महानगरपालिकाले कक्षा ११ मा अध्यापन गराउने सम्पूर्ण शिक्षण संस्थालाई पत्राचार गर्दै छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेर सिफारिस गरिएका विद्यार्थीसँग कुनै शुल्क नलिन निर्देशन दिएको छ । 

‘काठमाडौं महानगरपालिकाबाट मिति २०८०–४–२० गते सञ्चालित छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई सम्बन्धित शिक्षण संस्थामा भर्ना हुन सिफारिस गरिएको व्यहोरा विदितै छ’, पत्रमा भनिएको छ, ‘कतिपय शिक्षण संस्थाले छात्रवृत्तिमा अध्ययनका लागि छनौट भएका विद्यार्थीलाई भर्ना शुल्क माग गरेको भन्ने गुनासोप्रति काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

त्यस्तै, महानगरपालिकाले ‘छात्रवृत्ति’ भन्नाले कक्षा ११ र १२ मा विद्यार्थीले शिक्षण संस्थालाई भर्ना शुल्क, मासिक, शिक्षण शुल्क, कुनै प्रकारको धरौटी, पुस्तकालय–ल्याब शुल्क तिर्नु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था भएको स्मरण गराएको छ । शिक्षण संस्थाले विद्यार्थीसँग कुनै शुल्क माग गरेमा निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न महानगरपालिकाले भनेको छ ।

टिप्पणीहरू