सोमालियाका नागरिकको काठमाडौंमा धर्ना

सोमालियाका नागरिकको काठमाडौंमा धर्ना
सुन्नुहोस्

पूर्वी अफ्रिकी मुलुक सोमालियाका नागरिकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

सोमालियामा भएको गृहयुद्धका कारण विस्थापित भई नेपाल आइपुगेका उनीहरुले  गाँस, बाँस, कपासको ग्यारेण्टीसहित पुनर्स्थापनाको माग राखेर महाराजगञ्जस्थित ‘युनाइटेड नेशन हाई कमिस्नर फर रिफुजिस्, युएनएचसीआर’ को कार्यालय अगाडि धर्नासहित विरोध प्रदर्शन गरेका हुन् । 

सोमाली शरणार्थी फहादको नेतृत्वमा बिहान ९ बजेदेखि शुरु भएको धर्ना बेलुका साढे ५ बजेसम्म जारी रहने जनाइएको छ । आफूहरु सोमालिया फर्किन सक्ने अवस्था नभएको बताउँदै उनीहरुले युएनएचसीआरलाई खाने र बस्ने व्यवस्था मिलाइदिन माग गरेका छन् । 

आन्दोलनकारीहरुले ‘हामीले सोमालियामा पीडा भोग्यौं र नेपालमा पीडा भोगिरहेका छौं’,‘शरणार्थी जीवन महत्वपूर्ण छ’,‘हामीलाई बेवास्ता नगर्न मद्दत गर्नुहोस्’,‘हामीलाई पुनर्वास चाहिन्छ’,‘सबैभन्दा कमजोर शरणार्थी सोमालीहरुलाई ध्यान दिनुहोस्’,‘हामी मानव हौं र युएनएचसीआर मानवीय एजेन्सी हो’, लेखिएको प्लेकार्ड देखाएका छन् । 

त्यस्तै, ‘हामी युद्धको सिकार थियौं र अहिले अस्पष्ट भविष्यका सिकार हौं’,‘शरणार्थी हुनु अपराध होइन्’,‘हामी १० वर्षदेखि युएनएचसीआरको सहयोगको प्रतिक्षा गरिरहेका छौं’, लगायतका माग राखेर नाराबाजी गरिरहेका छन् । धर्नामा एक दर्जन बढीको सहभागिता रहेको जनाइएको छ ।
 

टिप्पणीहरू