जासुसको जालो, विदेश जाने पालो

जासुसको जालो, विदेश जाने पालो

नेपालमा विभिन्न देशका जासुसको जालो बाक्लिएको छ । कोही चिनियाँ दूतावासको छेउमा, कोही स्थलमार्ग हुँदै काठमाडौंभित्र आ–आफ्ना गतिविधिमा सक्रिय भएका छन् ।

अमेरिकी पूर्वकर्णेल तथा हालका सांसद माइकल जर्ज वाल्ट्जको टोली साउन ३२ गते बेलुकी ८ः५२ मा एयर इण्डियाको उडानबाट काठमाडौं ओर्लियो । सीधै हायात पुग्यो । भोलिपल्ट त्यसले बालुवाटारको चिनियाँ दूतावास छेउ उत्तरतर्फ एउटा कार्यालय उद्घाटन गर्‍यो । 

अमेरिकी टोली आएको अघिल्लो दिन, अर्थात् ३१ गते चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलिटरी कमाण्डका मेजर जनरल युए आन्दसहित ८ सदस्यीय टोली काठमाडौं आयो । यससँगै स्थलमार्गबाट भारतीय गुप्तचर संस्था ‘रअ’ को ३ सदस्यीय टोली आयो । आर कुमारले अवकास पाएपछि प्रभात कुमारसहितको टोली काठमाडौं आइपुगेको हो । उनलाई सचिवस्तरका हुन् भनिएको छ । पहिला आर्थिक विज्ञ पनि भैसकेका व्यक्ति हुन् । ‘र’ को डेपुटी चिफमा तीन र थप तीन जना सचिवालयमा राख्ने गरिन्छ । 

अर्कातिर चिनियाँ दूतावासनजिकै एउटा जासुसी अड्डा फेला परेको छ । बालुवाटारस्थित दूतावासको उत्तरतर्फ सवा सय मीटरको दूरीमा त्यस्तो भेटिएको हो । त्यहाँ आवत–जावत गर्नेले आफूलाई पत्रकार भन्ने, तर कसैले नचिन्ने अवस्था छ । मानिसहरु जम्मा पारी त्यहाँ गत हप्ता अफिस उद्घाटन गराइएको छ । 

त्यस्तै, दक्षिण कोरियाली जासुस उपप्रमुख किम ह्वन अप्रिल १४ मा काठमाडौं उत्रिएर १९ तारिखसम्म घुमफिर गरी फर्किएपछि यहाँका गुप्तचर प्रमुख हुतराज थापाको टोली उता जान लागेको छ । उक्त टोलीमा प्रशासनका डिआइजी भीमबहादुर बुढाथोकी र हुतराजका पिए (एसपी) राजन शर्मा सामेल हुने छन् । 

उता, नियमावली मिचेर कोही व्यक्तिलाई भावी प्रमुखका रुपमा श्रृंगार्ने कामअन्तर्गत स्नातकोत्तर नगरेका डिआइजी प्रजेशसिंह हमाललाई विशिष्ट श्रेणी, अर्थात् एआइजी बनाउन लागिएको छ । त्यसका निम्ति शेरबहादुर देउवाको सालो भूषण राणासँग भेट गराई ‘कांग्रेस हुँ’ भन्न लगाइएको छ । यसमा भावी प्रमुखका रुपमा चिनिएका टेकेन्द्र कार्कीको पनि स्वार्थ देखिन्छ । किनभने, अहिले टेकेन्द्रलाई प्रमुखका रुपमा बलियो दावेदार बनाइयो भने प्रजेशलाई उनले आफूपछिको प्रमुख बनाउने  गरी भूमिका खेल्छन् भन्ने अपेक्षा छ । उनी ‘छड्के’, अर्थात् राजनीतिक शक्तिको आडबाट जागिरमा छिरेका हुन् । तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काको कार्यकालमै साझाको महाप्रबन्धक भएका चिनकाजी पछाईकी छोरी भगाएका थिए । त्यही नाताले उनलाई जागिरमा हालियो । २०५८ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा आवेदन गरेका थिए  । तर, ‘कलर ब्लाइण्ड’, अर्थात् रातमा आँखा नदेख्ने भएका कारण असफल भए । 

अर्कातिर, पुरानो कमाण्डरलाई फसाउन खोज्दा आफैं फसिने भएपछि एउटा कोर्ट अफ इन्क्वायरीबाट नेपाली सेना पछाडि हटेको छ । धुन्धुकारी जर्नेल सोभेन्द्र महतले आफू जुम्लास्थित नं. २४ बाहिनीपतिका रुपमा जानेबित्तिकै अघिल्ला बाहिनीपति रामचन्द्र खत्रीले गरेको आर्थिक कारोबारमा लेखाका मेजर र क्याप्टेनलाई कारवाही गराएका थिए । तिनलाई मुख्यालय तानी छानविन चलिरहेको थियो । तर, कुनै कुनै कागजमा आफैंले सही गरी भुक्तानी दिएको फेला पर्न थालेपछि रोइकराई गरेर सोभेन्द्रले फाइल बन्द गराएको बुझिएको छ ।
 

टिप्पणीहरू