१६ लाई तान्दा ४ चैट

१६ लाई तान्दा ४ चैट
सुन्नुहोस्

फौजमा काम, क्षमता र वरिष्ठताका आधारमा बढुवा हुन्थ्यो । तर, अब नेतालाई कोटा बाँड्ने नाममा फौजीको काम, क्षमता र वरिष्ठता बेकार भएको छ । भर्खरै, सशस्त्र प्रहरीमा त्यही भयो ।

काण्ड–कारवाही खासै छैन, तर १२ जना बढुवा हुँदा चार नम्बरका एसपी बेपत्ता ! १६ नम्बरबाट नरेन्द्र बम १० मा, १८ का जहरसिंह बूढामगर ९ नम्बरमा तानिँदा चौथो नम्बरका ध्रुव कार्की बढुवामा छुटेका छन् । जबकि, सूर्यबहादुर सेन ओली, तेजप्रसाद पोखरेलहरु बढुवा नहुँदा पनि चित्त दुखाउने अवस्थामा थिएनन् । तर, नेताको भाग पुर्‍याउने भाउँतो चल्दा हुनुपर्नेहरुको रुवाबासी, नहुँदा पनि हुनेहरुको काँधमा फुली टल्किएको छ । ध्रुवमाथि त कतिसम्म अन्याय भयो भने, उनले राज्यबाट पाएको पदकको पनि अपमान भयो । विकास घिमिरेजस्ता मुख, पेटै काला मान्छेलाई माथि तान्ने क्रममा आठौं नम्बरका वीरसिंह साहु र नवौंका जनक पुरी बढुवाबाट बञ्चित भए । बढुवा पाएकामध्ये तेजप्रसादले बन्दीपुरे नेवार परिवारमा विवाह गरेका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग ससुराली नाता लगाएको चर्चा छ ।

जहरसिंह इन्स्पेक्टर हुँदै महाराजगञ्जमा प्रहरीकी एक हवल्दारसँग रंगेहात भेटिएर विवादमा आएका थिए । पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोड्दा एडिसी रहेका उनी राजनीतिक रुपमा माओवादीसँग निकट मानिन्छन्, सल्यानी मगर हुन् । लगनखेलमा प्रहरीमाथि हातपात गरेर बदनामी कमाएका नरेन्द्र बमले पनि यसपालि बढुवा पाएका छन् । यसैबीच, नयाँ राजदूतहरुको संसदीय सुनुवाइ सकिएसँगै विभिन्न मिशनबाट फिर्ता आएका हाकिमहरुले परराष्ट्र मन्त्रालयको विभागीय जिम्मेवारी सम्हाल्ने मौका पाएका छन् । 

क्यानाडामा राजदूत रहेका भृगु ढुंगाना साउथ एशिया डिभिजन हेर्नेमा परेका छन् । त्यहाँका रामप्रसाद सुवेदी जेनेभा गएपछि उनले सो जिम्मेवारी पाएका हुन् । संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिबाट फिर्ता भएका अमृत राईले चीनसहित हेर्ने गरी नर्थ इष्ट एशिया महाशाखा पाए । साउदी अरेबियामा राजदूतको जिम्मेवारीबाट स्वदेश फर्किएका कृष्ण ढकाललाई साउथ एशिया र प्यासिफिकमा राखिएको छ । शरदराज आरन सहसचिवमा बढुवा भई अहिले प्रशासन प्रमुख बनाइएका छन् । रिता धिताल नीति तथा योजना महाशाखामा तोकिएकी छन् । यसबीच, उपसचिव तहकी शिवानी बस्नेतको न्युयोर्कमा पोष्टिङ भएको छ भने हरि ओडारी डेनमार्क, प्रकाश अधिकारी बैंकक, पारश पण्डित जेनेभा, डा. डमरु पौडेल साउदी, कुमार राई दोहा, मुदिता बज्राचार्य मलेशिया, द्रौपदा सापकोटा दिल्ली दूतावासमा खटिएका छन् ।

(जन आस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू