हेलो सरकार अब २४ सै घण्टा, २५ जना कर्मचारी निरन्तर खटिने

हेलो सरकार अब २४ सै घण्टा, २५ जना कर्मचारी निरन्तर खटिने
सुन्नुहोस्

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ लाई अब तीन सिफ्टमा चलाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री कार्यालयबाट हेलो सरकारको सेवा विस्तार शुभारम्भ गर्नुभएको छ ।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तारित कार्यक्रममा एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ । गुनासाहरु फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायत डिजिटल माध्यमबाट टिपाउन सकिनेछ । हेलो सरकारको डेस्कले प्राप्त गुनासा तत्काल सम्बोधन गरेर सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।

हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि तीन जना उपसचिवसहित २५ जना कर्मचारी खटाइएको छ । प्राप्त गुनासोका प्रकृति हेरेर सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने बताइएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गरिने जानकारी गराइएको छ । गुनासो सम्बोधनका निम्ति र्यापिड रेस्पोन्स टीमसमेत गठन गरेर कार्यान्वयनमा ल्याइएको मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बताउनुभयो । उटीमले सम्बन्धित निकायमा पठाइएका गुनासा कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।

हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिनुभएको छ । शुभारम्भ समारोहमा मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।

टिप्पणीहरू