मेयर जथाभावी लेख्ने, सिडियो कार्यालय अनुरोध गर्ने

मेयर जथाभावी लेख्ने, सिडियो कार्यालय अनुरोध गर्ने
सुन्नुहोस्

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनाको क्रममा बाधा नपुर्याउन र सामाजिक सञ्जालमार्फत् जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ । आफ्नो पदीय जिम्मेवारीका लागि खटिएका राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित हुनेगरी सामाजिक सञ्जालमा दिइएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रशासनले कानुनको बर्खिलाप हुने जुनसुकै गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय प्रतिबद्ध रहेको बताएको छ । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई इंगित गर्दै प्रशासनले आफ्नो कार्य क्षेत्रमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीका बारेमा गुनासो भएमा प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष राख्न सुझाएको छ । प्रशासनले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन प्रयोग गर्न अनिवार्य पास लिनुपर्ने स्पष्ट व्यवस्था रहेकोबारे जानकारी गराएको छ । 

‘असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवक कर्मचारीहरुलाई निरुत्साहित गर्नेगरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्याउनुहुन र विभिन्न सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न–नगराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

मेयरले आफ्नी श्रीमती सवार काठमाडौं महानगरपालिकाको सरकारी गाडी बिदाको दिन रोकेकोमा चर्को आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए । महानगरपालिकाको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । त्यसपछि उनले सरकारलाई चोरको संज्ञा दिँदै उग्र भाषामा स्ट्याटस लेखेका थिए । 

सचिवालयले हिजो विज्ञप्ति जारी गर्दै यसबारे प्रष्टीकरण दिएको छ । तर, प्रष्टीकरणमा महानगरपालिकाको गाडी बिनापास शनिबार प्रयोग गरिएको सम्बन्धमा केही उल्लेख छैन ।

टिप्पणीहरू