डरलाग्दो अवस्थामा मानव बेचबिखनको श्रृंखला
मानव बेचबिखन तथा ओसारपसार बहुसङ्गठित अपराधका रुपमा विश्वमा हातहतियार र लागूऔषधपछि तेस्रो ठूलो कारोबारका रुपमा फैलिरहेको छ । यसलाई एक जघन्य अपराध मानिन्छ । यो सामाजिक रुपमा निन्दनीय र कानूनी रुपमा दण्डनीय समेत छ ।
नेपालको संविधानको मौलिक हकअन्तर्गतको धारा २९ मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बन्धक बनाउन पाईंदैन । कसैको इच्छाविपरीत काममा लगाउन पाईंदैन ।
त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ को उपदफा (१) अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानूनबमोजिम बाहेक मानिसको अंग झिक्न, वेश्यागमन गर्नुलाई मानव बेचबिखन तथा ओसारपसार मानिन्छ ।
सोही ऐनको उपदफा (२) मा कसैले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यका साथ कुनै प्रकारले ललाईफकाई, प्रलोभनमा पारी, झुक्याई, प्रपञ्च मिलाई, जबरजस्ती गरी, अपहरण गरी, शरीर बन्धक राख्नेलगायत कार्यमा बन्देज लगाइएको छ ।
यस्तो कार्य गर्ने जो कोहीलाई दुई वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना (दुवै सजाय) हुने कानूनी व्यवस्था छ । नेपालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण एवम् रोकथामका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सरोकारवाला, नागरिक समाजलगायत सामाजिक अभियन्ताहरुको महत्वपूर्ण योगदान रहँदै आएको छ । योसँगै पछिल्ला कानूनी व्यवस्थाहरुले पनि यसको नियन्त्रणमा सहयोग पुर्याउँदै आएको छ ।
तर, केही वर्षयता मुलुकमा आन्तरिक तथा वाह्य बजार र वैदेशिक रोजगारीका लागि हुने आप्रवासनमा समेत मानव बेचबिखन एवम् मानव तस्करीका घटना बढ्दो क्रममा छ ।
अहिले किशोर–किशोरी, युवा–युवती र महिला–पुरुषलाई रोजगारीका लागि आकर्षक तलब सुविधासहित विदेश पठाइदिने प्रलोभनमा ठग्ने र बेचबिखन गर्ने गरेको पछिल्लो तथ्याङ्कले देखाउँछ ।
कतिपय घटनामा मानव तस्करहरुले बेचबिखन गर्ने उद्देश्य राख्दै विदेशी नागरिकसँग विवाह समेत गराइदिएको तथ्य बाहिरिएको छ । यसरी विवाहपछि वीरगञ्ज नाका हुँदै भारतको राजधानी नयाँ दिल्लीलगायत ठूला सहरमा पुर्याएर जबरजस्ती अनैतिक तथा गैरकानूनी कार्यमा लगाउने गरेको पनि पाइएको छ ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्ष (२०७५÷०७६ देखि २०७९÷८०) मा मानव बेचबिखनमा परेका एक हजार दुई सय दुई जनाको उद्दार भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा मानव बेचबिखनमा परेका कुल पाँच सय २१ जनाको प्रहरीले उद्दार गरेको थियो । तीमध्ये एक सय ५१ जना महिला, तीन सय ४२ जना पुरुष र २८ जना बालिका हुन् ।
यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा जम्मा एक सय ३१ जनाको उद्दार भएको थियो । तीमध्ये ९१ जना महिला, ११ जना पुरुष र २९ जना बालिका हुन् ।
प्रहरीले आर्थिक वर्ष २०७७/०७८ मा कुल एक सय ३३ जनाको उद्दार गरेको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये ९७ जना महिला रहँदा ३६ जना बालिका भएको विवरणमा खुलेको छ ।
यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा मानव बेचबिखनमा परेका दुई सय ५१ जनाको उद्दार गरियो । तीमध्ये एक सय ६५ जना महिला, ११ जना पुरुष, १६ जना बालक र ५९ जना बालिका हुन् ।
चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म प्रहरीले मानव बेचबिखनमा परेका ३६ जनाको उद्दार गरेको छ । तीमध्ये २२ जना महिला, आठ जना पुरुष र छ जना बालिका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार पछिल्लो समय मानव बेचबिखन तथा तस्करीका घटना बढ्दो क्रममा छ ।
वैदेशिक रोजगारीमा जानेक्रम बढेलगत्तै मानव तस्करीका घटना पनि बढेको उनको भनाइ छ । जसअनुसार ब्यूरोमा दैनिक तीनदेखि चार वटा र महिनामा औसत एक सय वटासम्म उजुरी दर्ता हुने गरेको छ ।
उनी भन्छन्, ‘अधिंकाश अशिक्षित व्यक्ति आर्थिक अभावका कारण रोजगारीको खोजीमा विदेश जाने गर्छन् । सोही क्रममा कुनै व्यक्ति तथा संस्थाले उनीहरुसँग मोटो रकम असुलेर विदेश पठाई अलपत्र पार्ने तथा उनीहरुलाई गैरकाननूनी काम लगाउने गरेको पाइएको छ ।’
कतिपय अवस्थामा भिजिट भिसामा पठाइदिने र त्यहाँ पुगेपछि आकर्षक तलब सुविधासहितको काम लगाइदिने प्रलोभनमा मानव तस्करीहरुले बेचबिखन गर्ने गरिएको तथ्य खुलेको छ ।
‘भिजिट भिसामा विभिन्न मुलुक पठाइदिने भनी त्यहाँ पुर्याएर अनैतिक काम गर्न लगाउने, शोषण गर्ने, अलपत्र पार्ने, अपहरण गर्नेलगायत कार्य हुँदै आइरहेको छ,’ श्रेष्ठले भने, ‘त्यसैले, हामीले विमानस्थलमा कडा सुरक्षा लागु गरेका छौं । भिजिट भिसामा जान लागेकाहरुसँग सोधपुछ गर्छौं । उनीहरुलाई सम्झाउँछौं । अनि कतिपयको त्यहिँबाट उद्धार गर्छौं ।’
यसका अलावा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी सचेतना वृद्धिका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम आयोजना गर्ने गरेको र सीमामा प्रहरी सुरक्षामा कडाई गरिएको प्रहरीको दाबी छ । मुख्यतयाः वैदेशिक रोजगारमा विभिन्न मुलुक पठाइदिने प्रलोभनमा तथा ललाईफकाई मानव तस्करहरुले बेचबिखन गर्ने गरेको पाइएको छ । यसबारे श्रेष्ठले भनेका छन्, ‘जोकोहीको विश्वास नगर्नुहोला । सम्बन्धित निकायमा पुगेर त्यसबारे पर्याप्त जानकारी लिनुहोला ।’
सोही क्रममा अस्ति मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १७ औं राष्ट्रिय दिवस मनाइएको छ । यो वर्ष ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मूलन’ भन्ने नारा तय गरिएको हो ।
सन् २००२ मा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ११ औं शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ लाई २०६३ भदौ २० गते तत्कालिन व्यवस्थापिका संसद्बाट अनुमोदन गरिएको थियो । सोही दिनको स्मरण गर्दै नेपाल सरकारले हरेक वर्ष भदौ २ गते मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस पनि मनाउँदै आएको छ ।
टिप्पणीहरू