काठमाडौंमा हुने क्यानको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने

काठमाडौंमा हुने क्यानको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारण सभा तथा अधिवेशन असोजमा हुने भएको छ । आउँदो असोज ५ र ६ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा साधारण सभा तथा अधिवेशन गर्न लागिएको हो । 

अधिवेशनले क्यानको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । आज सूचना जारी गर्दै क्यानले अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा स्कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षण संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने जनाएको छ । 

भनिएको छ,‘नेपाल क्रिकेट संघको विधानबमोजिम केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु तथा प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा स्कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट केन्द्रीय साधारण सभाको लागि चयन भई आउने प्रतिनिधिहरुको उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

जिल्ला तथा प्रदेशहरुमा क्यानको अधिवेशन सम्पन्न भइसकेको छ । क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहले आफ्नो प्यानलसहित चार वर्षे कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

चतुरको प्यानलबाट सचिव पदमा पूर्वकप्तान पारस खड्काले उम्मेदवारी दिने चर्चा पनि छ । नेपाली क्रिकेटको व्यवस्थापकीय जिम्मेवारीमा जाने उद्ध्घोशका साथ दुई वर्षअघि खेल जीवनबाट बाहिर निस्केका पारस हालैमात्र क्यानको बाग्मती प्रदेश अध्यक्ष निर्वाचित भएका थिए ।

टिप्पणीहरू