शालीन विद्रोह, गुमनाम महाप्रस्थान

शालीन विद्रोह, गुमनाम महाप्रस्थान

७१ वर्ष पुग नपुग जिन्दगी । ५१ वर्ष नेपाली राजनीतिलाई अर्पण–समर्पण । २४ वर्ष इलामका जनताले लगातार जिताएका र अहिलेसम्म रिसाएको नदेखिएका सांसद । एउटा सांसदले नेपाली राजनीतिमा पाउने अनेक अवसरमा पछिल्लोपटक अध्यक्ष केपी ओलीको ढिपीअन्तर्गत राष्ट्रपतिको उम्मेदवारसम्म बन्नु भएका सुवासचन्द्र नेम्वाङको अप्रत्यासित, एक हिसाबले गुमनाम र चुपचाप महाप्रस्थान भएको छ । अखबारमा काम गर्ने दैनिकीका कारण बिहान चाँडै उठ्न सकिएन, सकिन्न जस्तो लाग्न थालेको छ अब । ‘जतिबेला जाग्यो, उतिबेलै सबेर’ भनेझैँ उठेर मोबाइल हेर्दा पहिलो सन्देश नेम्वाङको निधन भएको लेखिएको थियो । पार्टी केन्द्रीय प्रचार विभागकै सदस्यको लेखाइ भए पनि फिटिक्कै पत्यार लागेन । ‘के भयो फेसबुक ?’ जस्तो लाग्यो । तर लगातार स्क्रोल गर्दा यही सन्देश मात्र दोहोरिरह्यो । म्यासेजमा हेरेँ, किशोर दाइले, रामकुमार लेख्नु है नेम्वाङको शालिन विद्रोहबारे भनेर सन्देश पठाइसक्नु भएछ । सुवास नेम्वाङको निधनले नेपाली समाज साँच्चै भावविह्वल देखिएको थियो । सामाजिक सञ्जालमा नेम्वाङप्रतिको श्रद्धा हेर्ने हो भने गिरिजाप्रसाद कोइरालाको निधन हुँदा शोकाकूल नेपाली समाजभन्दा कम थिएन । जो पायो त्यही नेताले यत्तिको श्रद्धा पाउँदैनन्, बाँचेकाहरूले पनि बुझ्नुपर्ने विषय हो । 

नेपाली राजनीतिका शीर्षनेता सुशील कोइराला र सुवास नेम्वाङको निधन अप्रत्यासित र गुमनाम अनि त्यही कालो मध्यरातमा भयो । सुशील कोइरालाको नेपाली राजनीति अनुभवको दस्तावेजीकरण हुनै पाएन । महेश बस्नेतहरूको ‘म महेश’ बिकिरहँदा सुशील कोइरालाको त्यही सादगी जिन्दगीको दस्तावेज छैन । त्यसैगरी सुवास नेम्वाङको पनि नरहने भयो । कोही पत्रकारले उनका जीवनीबारे लेख्ने अवस्थाबाहेक उनकै शब्दमा त्यो राजद्रोहको मुद्दादेखि शिव गाउँलेका शब्दमा असल संस्कृतिको जगको राजनीतिमा भेटिने सुवास नेम्वाङको शान्तिप्रक्रियाका केही काम अधुरै रहे । बायोग्राफी पनि आएन । एमाले नेता, पत्रकार सुवास देवकोटाले लेखेका छन्, ‘सुवासले सिन्धुलीको कमलामा पढेका हुन्, बुबा न्यायाधीश थिए, बडाहाकिमसँग द्वन्द्वपछि बाबुको जागिर गएसँगै इलाम फर्केका हुन् । धेरैलाई यो कुरा थाहा छैन ।’

कहाँबाट धर्मनिरपेक्षता थपियो, स्वयम् नेम्वाङका आत्मकथा आएको भए नेपाली जनताले थाहा पाउने थिए होलान्, त्यो पाटो पनि मंगलबारको कालो रातले बन्द गरेको छ । 

आइतबारसम्म सुवास नेम्वाङ युवापुस्तालाई गहकिला र ओजपूर्ण उत्साहको बेलुन फुक्दै थिए । एमाले नेता यज्ञराज सुनुवारले फेसबुकमै लेखेका छन् । सोमबारसम्म नेम्वाङ पत्रकारसँग पनि उस्तै कुराकानी गरिरहेका थिए । अन्नपूर्ण पोष्टकी राधा खनालले लेखेकी छन् । अर्थात् जीवनको अन्तिम घडीसम्म निस्वार्थ ढंगले राजनीतिमा लागिरहेका नेम्वाङले अरु जनजातिले जसरी कहिल्यै भनेनन्, ‘जित्ने पद आए बाहुन र क्षेत्रीलाई, हार्नेबेला उम्मेदवार भइदिनु पर्ने जनजाति र परिआउँदा सुवास नेम्वाङले ।’ मनको कुनै कुनामा त थियो होला यी बाहुनहरू जुधेर कम्युनिष्ट पार्टी धुलोपिठो भयो । तर बाहिर कहिल्यै व्यक्त भएन । बरु यी बाहुनहरू मिले कम्युनिष्ट पार्टी फेरि एक भएर जनताको चाहनाअनुसार सहमतीय राजनीतिले देशमा स्थिरता छाउने थियो । त्यसका लागि शान्तिप्रक्रियाका केही कामहरू बाँकी थिए, त्यो पनि टुंग्याउने ध्येय भने पूरा भएन नेम्वाङको । युद्ध जितेर शान्तिप्रक्रियामा आएको माओवादीलाई पनि नरम बनाएर अरु नरमहरूसँग मिलाउने काममा नेम्वाङले जीवनभर भनिरहे, ‘सहमति र सहकार्य ।’ उनकै बलमा नेपालको राजनीतिमा पेस्तोल लिएर संसद छिरेकाहरू पनि नरम हुँदै आएका छन् । नरम मात्रै भएका छैनन्, कुनै पनि बेला जनताले लखेट्छन्, भाग्ने बाटो खोजिराख्नु पर्छ भन्ने दिव्यज्ञानबाट दीक्षित पनि हुँदै गएका छन् ।

लामो समयसम्म नेपाली पुस्ता र संसारले गुगलमा हेरिरहने एउटै तस्बिर हो, २०७२ असोज ३ गते जारी भएको नेपाली जनताको संविधान । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान शिरमा राखेको र साथमा उभिएका अर्का पात्र नेम्वाङको तस्बिर गुगलमा भेटिइरहनेछ । नेपालको संविधान जारी गर्ने काममा सुशील कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपालसँगै झलनाथ खनाल, शेरबहादुर देउवा, केपी ओली, नारायणकाजी श्रेष्ठजस्ता राजनीतिज्ञहरूलाई सहमतिको विन्दुमा पु¥याउने र संविधान जारी गराउन बाध्य बनाउने काममा पक्कै सुवास नेम्वाङको ‘सादगी सहमति’ कामयाव भएको थियो । संविधान जारीकर्ता भनेर चिनिएपछि धर्मनिरपेक्षताको पक्षधर भनेर नेम्वाङको चर्को आलोचना हुने गरेको छ । यद्यपि नेम्वाङको पार्टीमा आस्था नराख्ने लेखक पत्रकार घनेन्द्र ओझाले लेखेका छन्, ‘संविधान जारी हुँदा धर्मनिरपेक्षता राख्ने काममा नेम्वाङको भूमिका छैन, उहाँहरूले तयार पार्नु भएको संविधानको सक्कल कपीमा त्यस्तो थिएन ।’ कहाँबाट धर्मनिरपेक्षता थपियो, स्वयम् नेम्वाङका आत्मकथा आएको भए नेपाली जनताले थाहा पाउने थिए होलान्, त्यो पाटो पनि मंगलबारको कालो रातले बन्द गरेको छ । 

सुवास नेम्वाङ सबैलाई मिलाएर लैजानसक्ने क्षमता र नरमपन्थी स्वभावका नेता हुन् । उनी एमाले अप्ठेरामा पर्दा सधैँ जोगाउन लागिरहने नेताको रूपमा चिनिएका छन् । नेतृत्व जोगाउने–बचाउने काममा दोस्रो र तेस्रो तहका नेताहरूले निर्वाह गर्नु पर्ने दायित्वमा उनी अहिलेसम्मका बेदाग, एक नम्बरका त्यागी नेता हुन् । माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओली अर्थात् नेतृत्वको बचाउमा लाग्ने, आफ्ना स्वार्थका लागि नभड्काउने, जनतामा प्रिय रहिरहने उनको स्वभाव विष्णु पौडेल, ईश्वर पोखरेल, शंकर पोखरेल हुँदै गोकुल बाँस्कोटा, सूर्य थापाहरूले पनि सिक्नु पर्ने विषय हो । त्यो हो, नेतृत्व जोगाउने, नेता नभड्काउने, स्वार्थका लागि मुली छाडेर सहायकलाई देवत्वकरणमा नलाग्ने । यस्ता नेतालाई पनि कहिलेकहीँ चित्त दुख्दोरहेछ । संसद अवरुद्धको लम्बेतानले एमालेलाई हुने ठूलो उपलब्धी केही थिएन । बस सूर्य थापा, महेश बर्तौला, गोकुल बाँस्कोटाहरूलाई उफ्रने मञ्च सिवाय । यसको निदानका लागि सत्ता गठबन्धनसँग समन्वय गर्न एमाले अध्यक्ष ओलीले नै नेम्वाङलाई खटाए । नेम्वाङले एमालेको इज्जत रहने, संसद पनि चल्ने गरी सहमतिको विन्दु तयार पारे । तर सधैँ अरुलाई होच्याउने, खिल्ली उडाउने एमाले अध्यक्ष ओलीले त्यहाँ पनि सबैका सामु नेम्वाङलाई खिस्याए । त्यतिखेर नेम्वाङले ‘नेपाली भाषा बुझ्नेले यति त बुझ्नु पर्ने हो’ भनेर छोटोमा आफ्नो असन्तुष्टि सिध्याए । योबाहेक कहीँ कतै नेम्वाङ रिसाएको देखिएन, असन्तुष्टि पोखेको भेटिएन । मौन विद्रोहका शालिन नायक भनेर नेपाली राजनीतिले उनलाई चिनिरहनेछ । उनको सम्मान नै देखिएको छ समाज र सामाजिक सञ्जालमा ।   

देशमा धार्मिक हिंसाको बादल मडारिइरहेको छ । अलिअलि जातीय हावाहुरी पनि चल्न लागेको छ । शान्ति प्रक्रियाका केही काम बाँकी नै थिए । मूलतः कम्युनिष्टहरू एक भएर जाउन् भन्ने आमचाहनासँगै पश्चिमाहरूको खेल र धार्मिक सम्प्रदायका नाममा भइरहेको झेलबारे सायद नेम्वाङ जानकार नै थिए । संसद सञ्चालनपछि क्रमशः समस्याहरू प्राथमिकिकरण गर्दै समाधानका लागि संसद क्रियाशील हुने नै थियो । यसमा एक नम्बरको भूमिका नेम्वाङकै थियो । अध्यक्षले संसदमा उपस्थित भएर औपचारिक छेडखानीका गफ गर्नेबाहेक बाँकी कामहरू टुंग्याउने भूमिकामा नेम्वाङ नै मसिनोसँग लाग्नु पर्ने थियो । संसद सञ्चालनमा भएको नरम सम्झौतामा टेकेर नेताहरूमा संवाद र सहमतिको विन्दु खोज्दै माधवकुमार नेपाल, पुष्पकमल दाहाल र केपी ओलीलाई एकै ठाउँ उभ्याउने तयारीमा एमालेको एउटा पुस्ता भित्रभित्रै लागिरहेको थियो । एउटा पुस्ता यी नेताहरू मिलाउनै हुन्न भन्नेमा छन् भने विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, सोम पाण्डेलगायतका नेताहरू एकै ठाउँमा उभ्याउनुपर्छ भन्नेमै थिए । सायद नेम्वाङको पनि यही मत थियो । मौनता आफैँमा शक्ति हो । भनिएको छ, ‘बोल्न जति शक्ति खेर जान्छ, नबोली बस्न त्योभन्दा बढी शक्ति खर्च हुन्छ ।’ नेम्वाङ त्यही शक्ति आर्जन गरेका व्यक्तित्व थिए । जो नबोलि नबोली सबै समस्या समाधानमा निपुण थिए । संविधान जारीदेखि व्यवस्था व्यवस्थापनमा उनको अनुभव अब सम्झनामा सीमित रहेका छन् । 

यी पंक्तिहरू लेख्दै गर्दा नाटक बर्बरिकमा मदन भण्डारीको भूमिका निर्वाह गरेका झोराहाट, मोरङका मित्र भरत गुरागाईं बर्बरिकले लेखेका छन् :

ऐंठनले गाँजेको सपनाजस्तो रातसँगै 
निरवता बोकेर बिहान आयो,
जे नहुनुपथ्र्याे त्यही भयो
एउटा शालीन जिन्दगीमा
पूर्णविराम पो लागेछ ।
हार्दिक श्रद्धाञ्जली 
राजनेता सुवासचन्द्र नेम्वाङ ।

हिजै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार तथा रौतहट काठमाडौँ सम्पर्क मञ्चका पूर्वअध्यक्ष शंकर बिक, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य तथा मधेश प्रदेश सभा सदस्य विन्दुकुमारी यादव र सधैँ सम्पादकलाई सफल बनाउन एउटा कुनामा बसेर अहोरात्र खटिने, सम्पादक हुन नचाहने तर अब्बल सम्पादन र लेखन क्षमताका प्रिय दाजु लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको पनि निधन भएको छ । सुवास नेम्वाङसहित तपाईंहरू सबैमा भावपूर्ण श्रद्धाञ्जली !
यति लेखेँः

एकएक गरेर हट्दैछन् मोबाइलमा नम्बरहरू
त्यसैगरी घट्दैछन् फेसबुकमा साथीहरू
हँसिलो देखिन्छ जिन्दगी टिकटकका शिशामा 
ढिलोचाँडो उही हो गन्तव्य बिनापासपोर्ट स्वर्गको भीसामा ।

 

[email protected]
 

टिप्पणीहरू