‘द्रूत बस सेवा’ सञ्चालनबारे अनेक आशंका

‘द्रूत बस सेवा’ सञ्चालनबारे अनेक आशंका

सरकारले संविधान दिवसको दिनदेखि राजधानीको सडकमा ‘द्रूत बस सेवा’ सञ्चालनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्नपार्कको शान्तिबाटिकाबाट ‘द्रूत बस सेवा’ को भव्यताका साथ उद्घाटन गरेका थिए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल, प्रहरी अतिरिक्त महानिर्देशक दीपक थापालगायत उद्घाटन समारोहमा पुगेका थिए । समारोहमा बोल्दै यातायातमन्त्री ज्वालाले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगञ्ज र चाबहिल क्षेत्रमा पनि ‘द्रूत बस सेवा’ सञ्चालन गर्ने जानकारी दिए ।

‘द्रूत बस सेवा’ सञ्चालनका लागि सरकारले पहिलेका सडक लेनलाई परिवर्तन गरी फरक रंगले मार्किङ गरेको छ । द्रूत सेवाका बसहरु चल्ने लेनमा दुई–दुई सय मीटरमा रातो रङ्ग पोतिएको छ । दैनिक बिहान ९ बजेदेखि ११ र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रूत बस सेवा सञ्चालन हुने विभागले जनाएको छ । ती बसले ४५ मीनेटमा रत्नपार्कदेखि सूर्यविनायक पुर्याउने बताइएको छ । 

उक्त लेनमा चलाउनका लागि विभागले २५ वटा ठूला बसको व्यवस्थापन गरेको छ । कार्यालय समयमा गुडाइने ती बसहरु जाममा बस्न नपर्ने भनिएको छ । द्रूत बस चलेको समयमा लेनहरु खाली राखिने र त्यहाँ चल्ने बसहरु एम्बुलेन्सझैं अवरोधबिना गुड्न पाउने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । 

यात्रुको सुविधाका लागि द्रूत बस सेवा सञ्चालनमा ल्याएको कार्यालयको भनाई छ । हाल रत्नपार्क–सूर्यविनायक रुटमा नमूनाका रुपमा सञ्चालन गरिएपनि अन्य रुटमा पनि छिट्टै विस्तार गरिने यातायात मन्त्रालयले जनाएको छ । उक्त बस रातो बत्तीमा पनि रोकिँदैन । अन्य यात्रुवाहक बसझैं उक्त बस यात्रु पर्खेर नबस्ने जनाइएको छ । 

सरकारले ‘द्रूत बस सेवा’ सञ्चालन गरेसँगै चर्को आलोचना शुरु भएको छ । द्रूत सेवाको बसलाई अधिकांशले ‘नौटङ्की’ को सज्ञा दिएका छन् । द्रूत बसले थप ट्राफिक जाम बढाउने सर्वसाधारणको बुझाई छ । सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई ‘नमच्चिने पिङ्गको सय झड्का’ भनेका छन् । 

उनले लेखेका छन्, ‘रत्नपार्क–सूर्यविनायक द्रूत बस सेवा, नमच्चिने पिङ्गको सय झड्का भन्ने उखान चरितार्थ गरेको छ । द्रूतै त नभनौं सामान्य समयमा जहाँबाट जहाँ पनि परिवहनका साधन पुर्याउन सकिन्छ । यसका लागि निश्चित दूरी तय गरी आवश्यक ठाउँमा यात्रु ओराल्न मुकाम बनाउनुपर्छ । यति गर्न खासै गाह्रो छैन । हरेक सवारीलाई यस्तै निर्दिष्ट स्थानमा मात्रै रोक्न पाउने र यात्रु ओराल्नासाथ सो स्थानमा उपलब्ध भएजति यात्रु चढाएर हिँडिहाल्नुपर्ने अन्यथा गरेमा दण्डित गराउने व्यवस्था भएमा ‘द्रूत’ नाममा नौटङ्की गर्नुपर्दैन । सबै परिवहन द्रूत हुनेछन् ।’

अर्काले लेखेका छन्, ‘यो नौटंकी नै हो । हामी बनेपाबाट लोकल बस चढ्ने बेलामा छुट्याउने समय भनेको सवा घण्टा नै हो । यसमा कहिलेकाँही डेढ घण्टा पनि लाग्ला त्यो छुट्टै पाटो हो । सूर्यविनायक–रत्नपार्क त कहिलेकाँही ३५ देखि ४० मीनेट मै पुगिन्छ । ४५ मीनेटको समय दिएर कसरी द्रूत सेवा हुन्छ ?’ द्रूतको नाममा जनताले तिरेको कर उडाइएको भन्दै आक्रोशसमेत पोखिएको छ । 

ट्राफिक जाम बढ्ने आशंका 

सरकारको ‘द्रूत बस सेवा’ चलाउने निर्णयले ट्राफिक जाम बढ्ने देखिएको छ । एउटा रुटमा चल्ने सवारी साधनलाई सहज बनाउन खोज्दा अन्य मर्कामा पर्ने भन्दै सर्वसाधारणहरुले गुनासो गरिरहेका छन् । काठमाडौंको सडक उसैपनि साँघुरा रहेकाले त्यसैमा छुट्टै लेन बनाउँदा झन जाम पर्ने आकलन छ । 

काठमाडौं उपत्यकामा सवारी साधनको चाप अत्यन्तै धेरै छ । जसका कारण अत्याधिक ट्राफिक जाम हुने गरेको छ । सडक साँघुरो भएपनि बसस्टपमा बस रोकेर राख्न नदिने हो भने सबै सार्वजनिक यातायात ‘द्रूत’ भइहाल्छन् । द्रूत बसको नाममा ट्राफिक अन्यौल सिर्जना भएको भन्दै धेरैले प्रश्न उठाएका छन् । 

द्रूत सेवाले ट्राफिक जाम बढ्ने, दुर्घटनाको जोखिम हुने, सडक अस्तव्यस्त हुनेलगायत गुनासो सर्वसाधारणले गरेका हुन् । सर्वसाधारण सुभद्रा देवकोटाले भनिन्,‘द्रूत बस सेवाका नाममा दुःख दिने काम मात्र हुन्छजस्तो छ । उही बाटोमा लेन थपेर नि द्रूत बस सेवा चल्छ ? अहिलेकै सडक साँघुरो भइरहेको बेलामा द्रूत बस सेवा चलाउन लागिएको छ, यसले झन् ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।’

ती बसले ४५ मीनेटमा गन्तव्य पुर्याउने भनेपनि आन्दोलनमा अड्किएर बस्नुपर्ने समस्या ज्यूँको त्यूँ छ । मुलुकमै पहिलोपटक सञ्चालन गरिएको यो सेवालाई प्रभावकारी बनाउन ठूलै चुनौती देखिने सम्भावना छ । द्रूत सेवाको बसमा यात्रा गरिरहेकी यात्रु उषा नेपालीले भनिन्, ‘भन्नलाई द्रूत भनिएको छ । राम्रो त राम्रै होला । तर, यसको कारणले अरुलाई जाममा पर्ने हो कि भन्नेजस्तो देखिएको छ । यसलाई बाटो खाली गर्दा अन्य सवारीचाँहि धेरै जाममा पर्छन् ।’

‘डेडिकेटेड’ लेनमा गाडी पूरानै, झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता उस्तै

‘द्रूत बस’ का लागि लेन बनाइएपनि त्यसमा चल्ने गाडी भने पूरानै छन् । काभ्रेबाट काठमाडौंको रुटमा चल्ने गरेका अधिकांश गाडीलाई ‘द्रूत बस’ को रुपमा सञ्चालन गरिएको छ । काम र पढाइको सिलसिलामा भक्तपुरबाट काठमाडौं आउनेको संख्या धेरै छ । यस्तोमा २५ वटा बसले धान्छ ? भनि प्रश्न गर्न थालिएको छ । 

‘द्रूत बस सेवा’ को तेस्रो दिन नै हिजो यात्रु खचाखच देखिन्थ्यो । यात्रुहरु ढोकैसम्म झुण्डिएर यात्रा गरिरहेका थिए । रत्नपार्क जाने अन्य सार्वजनिक बससँगै ती बस पनि जाममै अड्किएको देखिन्थ्यो । जसले गर्दा ‘द्रूत बस सेवा’ प्रभावकारी नहुने आशंका उनीहरुको छ । सरकारको योजना र लगानी ‘बालुवामा पानी’ हुने अनुमान एकथरीले लगाएका छन् । 

सम्पूर्ण अध्ययनपश्चात् सञ्चालनमा ल्याएका हौंः विभाग 

यातायात व्यवस्था विभागले सरोकारवालासँग छलफल, प्राविधिकहरुको अध्ययनपश्चात् मात्र ‘द्रूत बस सेवा’ सञ्चालनमा ल्याएको जनाएको छ । विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुले परीक्षणमा रहेको ‘द्रूत बस सेवा’ लाई अहिले नै विवादमा ल्याउन आवश्यक नभएको बताए । सबै सार्वजनिक सवारी साधनलाई द्रूत बनाउने तयारी भइरहेको उनले जानकारी दिए । 

‘नेपालमा काम गर्न खोज्नेबित्तिकै विवाद हुन्छ । अहिले यसमा आलोचना गर्नुपर्ने कुनै विषय नै छैन । सडक साँघुरा छन्, त्यसैले अलिक समस्या भएको हो । परीक्षणकालमा रहेकाले विस्तारै सबै ठीक हुन्छ । हामी त्यसमा ठूला बसहरु चलाउने तयारीमा छौं । शुरुवातमा दुई घण्टा भएपनि बिस्तारै फूल टाइम चलाउँछौं’, उनले भने ।

टिप्पणीहरू