फेरि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चालकहरुको चेतावनी

फेरि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चालकहरुको चेतावनी

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विरोध कार्यक्रम थाल्ने घोषणा गरेको छ । लामो समयदेखि ट्यांकर मजदुरहरुले उठाउँदै आएको माग कुनै पनि निकायले सम्बोधन नगरेपछि संघले बाध्य भएर विरोध कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।

संघले आगामी आगामी आइतबारदेखि मुलुकभरका सबै ट्यांकर मजदुरहरुले आफ्नो काम छाडेर गाडीको साँचो ढुवानी व्यवसायीलाई बुझाउने कार्यक्रम तय गरिएको छ ।

संघका अध्यक्ष ईश्वर लामाका अनुसार पर्सि बुधबार कालोपट्टी बाँधेर ट्याङकरमा पेट्रोलियम पदार्थ लोड गर्ने, असोज ११ गते सम्पूर्ण ट्याङकरमा कालो झण्डा राख्ने, १२ गते थानकोट डिपो एक घण्टा बन्द गर्ने र असोज १४ गते गाडीको साँचो ढुवानी व्यवसायीलाई हस्तान्तरण गरिने छ ।

संघले आफ्नो सात बुँदे माग पनि सार्वजनिक गरेको छ । सम्पूर्ण ट्यांकर चालक तथा सहचालक मजदुरहरुलाई श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोकेबमोजिमको तलब दिनुपर्ने संघको प्रमुख माग छ । 

त्यस्तै, स्वःरोजगारको हकमा मात्र लागू गरिएको करार सम्झौता नामसारी बापतको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेजी गर्न तथा तापक्रमको सही व्यवस्थापन गर्नसमेत माग गरिएको छ ।

संघले ट्यांकर चालक तथा सहचालक मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने, जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने, प्रत्येक तीन÷तीन महिनामा सुरक्षा तालिमको व्यवस्था गर्नुपर्ने र ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने पनि माग अघि सारेको छ ।

टिप्पणीहरू