पत्रकारमाथि सांघातिक आक्रमण, प्रेस सुरक्षामा चुनौती देखिएको महासंघको निष्कर्ष
रातोपाटी डटकममा कार्यरत पत्रकार कृष्णसिंह धामीमाथि सांघातिक आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
हिजो दिउँसो खाजा खाएर ललितपुरको बखुण्डोलस्थित अनलाइनको कार्यालय फर्कंदै गर्दा आधा दर्जनको समूहमा आएका अपरिचित व्यक्तिले पत्रकार धामीमाथि सांघातिक आक्रमण गरेका थिए ।
आक्रमणका कारण धामीको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
गत भदौ २५ गते सोमबार त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिएको केही शैक्षिक कार्यक्रमबारे रातोपाटी अनलाइनले समाचार प्रकाशित गरेको थियो । सोही विषयलाई लिएर एउटा विद्यार्थी संगठनले पत्रकार धामी र रातोपाटी अनलाइनको नाम किटान गरी भदौ २६ गते चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको थियो ।
महासंघ सचिव गोविन्दप्रसाद चौलागाईंले जारी गरेको विज्ञप्तिमा विषयमा अनुसन्धान अघि बढाई दोषीलाई कानूनी कारबाही गर्न माग गरिएको छ ।
उनले कुनै पनि बहानामा पत्रकारमाथि आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी काम रहेको उल्लेख गर्दै दिनदहाडै भएको यो घटनाले प्रेस सुरक्षाको स्थिति चुनौतीपूर्ण देखिएको बताएका छन् ।
साथै, अपराधिक मनासायले पत्रकारमाथि आक्रमण गर्नेको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
टिप्पणीहरू