किर्ते कागजमा जापान उडाउन खोज्दा

किर्ते कागजमा जापान उडाउन खोज्दा

नक्कली कागजात पेश गरेर जापानको भिसा लगाउने म्यानपावर कम्पनीलाई सरकारी संयन्त्रले नै जोगाएको खुलेको छ । वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीमाथि गैरकानुनी काम गर्ने म्यानपावरलाई जोगाएको आरोप लागेको हो । नेपाली कामदारलाई जापान पठाउन खुलेका २३ वटा म्यानपावरले ‘जापान इन्टरनेशनल को–अपरेशन एजेन्सी (जाइका)’ को समेत किर्ते कागजात बनाएर भिसा लगाएको जापानिज दूतावास र जाइकाले पछि थाहा लगाए । 

ती दुई संस्थाले विभागलाई यसबारे छानबिन गर्न भन्दै पत्र पठाएका थिए । किर्ते कागजातबारे अनुसन्धान गर्ने जिम्मा पाएका निर्देशक उप्रेती नै म्यानपावरहरूसँग मिलेको स्रोतले बतायो । विभागले म्यानपावरहरूलाई स्पष्टीकरण सोधेको छ । तर, लामो समय बितिसक्दा पनि विभागले जापानीलाई कुनै जानकारी दिएको छैन् । 

‘स्पष्टीकरण सोधेको लामो समय भइसकेको छ । सबैले जवाफ पनि दिइसकेका छन् । तर, कसले के भन्यो ? स्पष्टीकरणमा के आयो ? केही अत्तोपत्तो छैन । उनी पैसा खाएर आँखा चिम्ली बसेका छन् । म्यानपावरहरूलाई उनकै संरक्षण छ भन्ने त स्पष्ट भइसकेको छ । नत्र अहिलेसम्म कारबाही भइसक्थ्यो’, स्रोतले भन्यो ।

निर्देशक उप्रेतीले म्यानपावरलाई स्पष्टीकरण सोधेको स्विकारेका छन् । म्यानपावरले स्पष्टीकरण पेश गरिसकेको र हाल अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ । ‘अनुसन्धान भइरहेकाले अहिले नाम नखुलाएका हौं, फेरि अनुसन्धानको क्रममा गल्ती नगरेको पाइयो भने म्यानपावरलाई नराम्रो हुन सक्छ’, उनले भने ।

टिप्पणीहरू