डेढ दर्जन सहकारीलाई महानगरको ३५ दिने पुर्जी

डेढ दर्जन सहकारीलाई महानगरको ३५ दिने पुर्जी

ललितपुर महानगरपालिकाले डेढ दर्जन बढी सहकारी संस्थालाई स्पष्टीकरण सोधेको छ । 

आज सार्वजनिक सूचना निकालेर महानगरले लामो समयदेखि संस्थाको वार्षिक प्रतिवेदन पेश नगरेका १९ वटा सहकारीलाई ३५ दिनभित्र चित्त बुझ्रदो स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो । 

सहकारी ऐन, २०७५ को दफा २९ को उपदफा (२) बमोजिम सहकारी संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरी सोही ऐनको दफा ५१ बमोजिम वार्षिक प्रतिवेदन महानगरपालिकामा बुझाउनुपर्ने व्यवस्था छ । 

तर, विगत पाँच वर्षभन्दा बढी अवधिदेखि ती सहकारी संस्थाले साधारणसभाको प्रतिवेदन पेश नगरेको भन्दै महानगरपालिकाले सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा (३) बमोजिम दर्ता खारेज किन नगर्ने ? भनेर सोधेको छ । 

स्पष्टीकरण मागिएकामा श्री गेट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री गंगा सागर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री रातो मच्छिन्द्र महिला सिपमुलक सहकारी संस्था लिमिटेड, श्री पासा पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् । 

त्यस्तै, श्री रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री सुनापाताल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री रिलायन्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री पूर्णचण्डी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री शिरडीसाई महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री सिलौटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री मुद्रा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि स्पष्टीकरण सोधिएको छ । 

महानगरपालिकाले श्री सवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री जेनिथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री समभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री ललितपुर वातावरण सफाई सहकारी संस्था लिमिटेड, श्री उज्येली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री नव जागरण कृषि सहकारी संस्था लिमिटेड र श्री खोकना पर्यटना सहकारी संस्था लिमिटेडलाई पनि स्पष्टीकरण पेश गर्न भनेको छ ।
 

टिप्पणीहरू