ड्युटीमा नबस्ने डाक्टरलाई तत्काल कारबाही
-शंकर श्रेष्ठ
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले कार्यालय समयमा अस्पताल नबस्ने डाक्टरलाई कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका छन् ।
आम नागरिकको सहज स्वास्थ्य सेवा नै आफ्नो मुख्य योजना रहको बताएका जोशीले तोकिएअनुसार स्वास्थ्य विमा कार्यान्वयन नगर्ने स्वास्थ्य संस्था र कार्यालय समयमा अस्पताल नबस्ने डाक्टरलाई ठाउँको ठाउँ कारबाही गरिने चेतावनी दिए ।
‘संविधानले व्यवस्था गरेको नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारको सुनिश्चितताका लागि निरन्तर लागिरहेका छौं,बागमती प्रदेशभर आठ सय ११ शैया निःशुल्क रुपमा विपन्नका लागि व्यवस्था गरेका छौं’, उनले भने– ‘प्रदेशका स्वास्थ्य संस्थाहरुको व्यवस्थापन गर्दै नागरिकलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाह गर्ने अहिलेको मुख्य उद्देश्य हो ।’
हुने खाने भन्दा हुँदा खाने वर्गमा सहज र सुलभ स्वास्थ्य सेवा पुर्याउने अभियानमा सरकार लागिरहेको बताउँदै मन्त्री जोशीले नागरिकको स्वास्थ्य बिमा र अस्पतालमा देखिएका बिमा सम्बन्धी समस्या समाधान गर्न मन्त्रालय गम्भीर रहेको बताए ।
ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको लागि निःशुल्क हवाई उद्धार सम्बन्धी कार्यविधि २०८० मन्त्रि परिषदबाट स्वीकृत भइसकेको स्वास्थ्यमन्त्री जोशीले जानकारी दिए । प्रदेशका लोपोन्मुख तथा सीमान्तकृत जाती एवं वृद्धाआश्रममा रहेका असहाय छ सय ३७ परिवारका नागरिकको २५ लाख ८६ हजार रुपैयाँ लागतमा निःशुल्क स्वास्थ्य बिमा गरिदिएको पनि उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालय धादिङको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्न धादिङ आइपुग्नुभएका स्वास्थ्य मन्त्री जोशीले धादिङ अस्पताल र स्वास्थ्य कार्यालयको निरिक्षण पनि गरेका छन् । अस्पतालको निरिक्षण गर्दै उनले उपचाररत विरामीहरुलाई भेटेर अस्पतालको सेवा र स्वास्थ्यकर्मीहरुको चालचलनबारे प्रतिकृया लिए ।
दुई दिनसम्म संचालन हुने गोष्ठीमा जिल्लामा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा गर्दै आगामी योजनाको बारेमा छलफल हुने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए । गोष्ठीमा जिल्लाभरका स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन् ।
टिप्पणीहरू