ज्येष्ठ नागरिकको अधिकारमा चुनौती थपिएको आयोगको ठहर
राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगले आज ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
केही वर्षयता ज्येष्ठ नागरिकमाथि दुव्र्यवहारका घटना बढिरहेकोमा चिन्ता व्यक्त गर्दै आयोगले उनीहरुको अधिकार संरक्षण, संवद्र्धन र प्रबद्र्धनका निम्ति उचित काम गर्न पनि सरोकारवाला सबैलाई अपिल गरेको छ ।
‘परिवारका सदस्य वैदेशिक रोजगारीमा जाँदा ज्येष्ठ नागरिक एक्लो हुनु, एकल परिवार र प्रविधिको कारण अन्तरपुस्ताबीचको निकटता टाढिनु, ज्येष्ठ नागरिकमाथि दुव्र्यवहारका घटना बढ्नु, घर परिवार, समाज र राज्यबाट सम्मान र संरक्षण नहुनु, ललाईफकाई सम्पत्ति आफ्नो नाममा बनाउनु र उचित लालनपालन तथा स्याहारसुसार नगरी बृद्धाश्रमसम्म लैजाने गरेका घटनाहरु दिन प्रतिदिन बढ्दो क्रममा रहनु चिन्ताजनक छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ ।
आयोगले सरकारद्धारा प्रदान गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा, स्वास्थ्य उपचारमा छुट सुविधा, यातायातमा छुट सुविधा, आरक्षण सीटको व्यवस्था, सेवाको प्राथमिकतामा कार्यान्वयन अभावजस्ता कुराले पनि ज्येष्ठ नागरिकको अधिकारमा थप चुनौती खडा भएको बताएको छ ।
नेपालको संविधानको मौलिक हकको धारा ४१, ज्येष्ठ नागरिक ऐन, २०६३, नियमावली २०६५, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी नीतिलगायतले ज्येष्ठ नागरिकको अधिकारको प्रत्याभूति गराउँछ ।
तर, कानूनी व्यवस्था भएपनि कार्यान्वयन पक्ष फितलो भएको उल्लेख गर्दै आयोगले ज्येष्ठ नागरिकलाई प्राप्त हुने सबै प्रकारका सेवा उपलब्ध गराउन, सेवा प्रवाहमा प्राथमिकता दिन, ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति ध्यान दिन तथा दुव्र्यवहार गर्नेमाथि कारबाही गर्न, उनीहरुको ज्ञान, सीप, अनुभवलाई अन्तरपुस्तान्तरण गरी सम्मान गर्न सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
टिप्पणीहरू