सरकारको अनुभूति

सरकारको अनुभूति

अहिले सरकार देशमा केही नयाँ–नयाँ काम गरिरहेको छ । अस्ति राजधानीमा नयाँ खालको गाडी गुडाउन थालियो । त्यसको उद्घाटन गर्दै मन्त्री प्रकाश ज्वालाले भन्नुभएछ, ‘अब हामी जनतालाई देशमा सरकार भएको अनुभूति हुने गरी काम गर्न थाल्नेछौँ ।’

मन्त्रीज्यूको कुरा सुनेर खुशी लाग्यो । आखिर सरकार अब देशमा सरकार पनि छ है भन्ने अनुभूति दिन खोज्दैछ । यो त राम्रै कुरा हो । तर मन्त्री ज्वालालाई थाहा थिएन कि कुन्नि, देशमा सरकार भएको अनुभूति जनतालाई अहिले होइन, ऊबेलादेखि नै भइसकेको थियो ।

तपाईं एकचोटी बजार जानुस्, भाउ सुनेपछि थाहा हुन्छ, देशमा सरकार पनि छ । सरकार नभएको भए बजार भाउ कसले बढाउँथ्यो ? एअरपोर्ट जानुस्, त्यहाँ पुगेपछि तपाईंलाई थाहा हुन्छ, देशमा सरकार छ ।

नभएको भए विदेश जाने ती युवाहरूलाई पासपोर्ट कसले बनाइदिन्थ्यो ? सरकार भएरै त बिचराहरूले विदेश जान पासपोर्ट बनाउन पाए, श्रम स्वीकृति लिन पाए ? तपाईंले दुःख गरेर एक रूपैयाँ कमाउनुस्, २५ पैसा सरकारले ट्याक्स लिइसक्छ । ट्याक्स तिर्दा पनि तपाईंलाई अनुभूति हुन्छ, देशमा सरकार त रहेछ । नभए ट्याक्स किन तिर्नुपर्‍यो ? 

देशमा सरकारको अनुभूति हुने यति धेरै कुरा विद्यमान छ । अब त्यसमा मन्त्रीले फेरि अनुभूति गराइदिन्छु भन्दा जनता त्रसित हुँदैनन् र भन्या ? 

टिप्पणीहरू