इजरायल घटनाबारे छलफल गर्न अपराह्न क्याविनेट बस्दै, साँझ सर्वदलीय बैठक

इजरायल घटनाबारे छलफल गर्न अपराह्न क्याविनेट बस्दै, साँझ सर्वदलीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको विशेष बैठक बोलाउनुभएको छ । 

आज अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, उनीहरुको स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

 क्याविनेट बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमै सर्वदलीय बैठक पनि आह्वान गर्नुभएको छ । सर्वदलीय बैठकमा पनि इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुने जानकारी गराइएको छ । 

 नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा हमास बिद्रोहीद्वारा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार इजरायल हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्दार र नेपाल फिर्तिका लागि कूटनीतिक पहल भैरहेको छ । 

सो सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले असोज २० गते घटनाको भर्त्सना गर्दै इजरायलस्थित नेपाली दूतावासलाई घाइते नेपाली नागरिकको अवस्था बुझी उद्दारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिइसक्नु भएको छ  ।

 इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकीन गरि उनीहरूको उद्दार गर्नका लागि हिजो बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक राख्नुभएको थियो ।

सो बैठकले माननीय परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षालगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक र्‍यापिड एक्सन टिम गठन गरेको छ । उक्त टीमको बैठकले उद्दार र नेपाली फीर्तिसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको सरकारले जनाएको छ ।

टिप्पणीहरू