प्रोजेक्ट ल्याउन पञ्चायतले सक्ने गणतन्त्रले नसक्ने ?

प्रोजेक्ट ल्याउन पञ्चायतले सक्ने गणतन्त्रले नसक्ने ?
सुन्नुहोस्

आठ दिने चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्केका छन् । चीनले दिएको गार्ड अफ अनर, सिसँग डेलिगेसन तहको भेटघाट र चिनियाँ अखबार ग्लोबल टाइम्सको दुई पेज लामो अन्तर्वार्ता हेर्दा भ्रमण गज्जब भएको लाग्न सक्छ । तर, भ्रमण त्यो स्तरको हुन सकेन जुन स्तरको प्रचार प्रधानमन्त्रीस्वयंले गरेका थिए । न चीनसँग बिजुली व्यापार हुने वाचा पूरा भयो । न किमाथांका नाका खोल्ने काम भयो ।

चीनले चाहेको बिआरआई परियोजनाको ठोस कदम पनि अगाडि बढेन । हाङचौको खेलकुद मेलादेखि कैलाशपर्वतको तीर्थाटनसम्म फैलिएको भ्रमण सकेर प्रधानमन्त्रीले १९ तोपको सलामीको कुरा जोडतोडले गरे । संयुक्त विज्ञप्तिमा नआएको चुच्चे नक्साको कुरा पनि गरेको भनेर मिडियामा समाचार बनाए । यी सतही कुरा हुन् । मूलतः नेपाली नेतृत्व र चिनियाँ नेतृत्वको बीचमा विश्वासको वातावरण देखिएको छैन । 

सन १९६१ मा राजा महेन्द्र चीन जाँदा कोदारी राजमार्ग बनाउने समझदारी र दुई वर्षभित्रै सन् १९६३ बाट काम शुरु भयो । सन् १९६७ मा आएर त राजमार्ग शुरु नै भयो । यो नेपाल र चीन जोड्ने बाटो मात्रै थिएन बरु शताब्दीऔँ पुराना दुई देश जोड्न हिमाल पार गरेर आएको पहिलो मेगा प्रोजेक्ट थियो । सन् १९७० को दशकमै चीनले काठमाडौँ–मुग्लिन–नारायणघाट राजमार्ग बनायो । यो झट्ट हेर्दा विशाल चीनले बनाएका दुई राजमार्गजस्तो मात्रै लाग्न सक्छ । त्यो बेला चीनको विश्व आर्थिक मञ्चमा कुनै दरिलो उपस्थिति थिएन । ऊ अहिलेजस्तो अमेरिकासँग ट्रेड वार गर्ने तहको दोस्रो ठूलो अर्थतन्त्र थिएन ।

त्यो बेलाको चीनले एकै दशकमा नेपाललाई त्यो समयका दुई मेगा प्रोजेक्ट दिएको थियो । अहिले त्यो अनुपातमा झन् ठूला परियोजना दिनुपर्ने हो ।

अहिलेको जस्तो न्यू डिभेलपमेन्टदेखि एशियाली पूर्वाधार लगानी बैंकको मुख्यालय हुने देश थिएन । चीनको गरिबी अहिलेजस्तो उन्मूलन भएको थिएन । उसले अहिलेजस्तो पूर्वाधारमा क्रान्ति गरेको थिएन । त्यो बेलाको चीनले एकै दशकमा नेपाललाई त्यो समयका दुई मेगा प्रोजेक्ट दिएको थियो । यसमा न भूराजनीतिले रोक्यो । न नेपालको आर्थिक हैसियतले नै ! अहिलेजस्तो नेपाली प्रतिव्यक्ति आय नभएको र पर्याप्त दक्ष जनशक्ति नभएको त्यो युगमा पनि यस्ता मेगा परियोजना आउनु सामान्य विश्वासको कारणले सम्भव हुने कुरा थिएन ।

अहिले त्यो अनुपातमा झन् ठूला परियोजना दिनुपर्ने हो । दक्षिण एशिया छिराउने राजमार्ग राजीखुशी तत्काल बनाउने चीनले दक्षिण एशिया छिर्ने रेल नेपाली हितमा बनाउनुपर्ने हो । तातोपानी नाका दशकौँअगाडि सडकले जोड्ने चीन अहिले नेपालसँगका सबै नाका खोलेर दक्षिण एशियाली भूजडित देशतिर चिनियाँ बजार दिन आउनुपर्ने हो । नेपाली पक्षले चीनको विश्वास जित्न नसकेरै यस्तो हुन नसकेको हो । आज अफ्रिकामा चिनियाँ पूर्वाधारले परिवर्तन आएका छन् ।

इण्डोनेशियामा रेल बनेर दुई ठूला सहर जोडिएका छन् । चीनमा मुख्यालय भएको एशियाली पूर्वाधार लगानी बैंकबाट भारतले मनग्गे फाइदा दिएको छ । नेपाल त्यो फाइदा लिने मामिलामा धेरै पछि परेको छ । पर्यटन, पूर्वाधार, लगानी, व्यापारदेखी उद्यममा चीनले विश्वलाई चकित बनाउने कदम चालिरहेको छ । त्यही चीनको १४१४ किलोमिटर बढि सँधियार भएको नेपाल भने त्यसको देखिने क्रान्तिकारी विकास गर्नमा पछि परेको छ । एक ढंगले भन्दा महेन्द्रले दलविहिन पञ्चायतमा जुन स्केलको चिनियाँ लगानी ल्याउन सके अहिलेको उन्नत लोकतन्त्र भनेर दाबी गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले त्यो स्तरको लगानी र विकास ल्याउन सकेको छैन । नयाँ सरकार बनेर चीन पुग्ने । भ्रमण र भेटघाट गरेर समाचार बनाउने । सम्झौता गर्ने ।

तर, गम्भीरपूर्वक कार्यान्वयन नगर्ने । यो चक्रव्यूहमा नेपाली सत्ताका खेलाडी एकपछि अर्को गर्दै चलिरहेका छन् । त्यसका सबैभन्दा ताजा उदाहरण प्रधानमन्त्री प्रचण्ड हुन् । चीनको सूत्र ल्याएर नेपालीलाई गरिबीबाट उन्मुक्ति दिन नेपालले सकेन । चिनियाँ विशाल बजारमा नेपालको सबल निर्यात पु¥याएर व्यापार घाटा कम गर्न सकेन । चिनियाँ पूर्वाधारमा भएका विश्वकै क्रान्तिकारी छलाङ्बाट हरेक प्रदेश र स्थानीय तहमा परिवर्तन ल्याउन सकेन । करोडौँ पर्यटक विदेश जाने चीनका दश लाख पर्यटक पनि तान्न सकेन । चीनका खर्चपतिहरूलाई पर्यटकदेखि लगानीकर्ताको रूपमा नेपाल सुगम गन्तव्य बन्न सकेन ।

विश्वकै उत्कृष्ट ५० सूचीमा रहेका विश्वविद्यालयदेखि चीनको अन्तरिक्ष कार्यक्रम हुँदै खेलकुदका विकासको देखिने फाइदा लिन सकेन । चीनमा मुख्यालय भएका विश्व मञ्चहरूमा देखिने शीर्ष पदमा पुग्न नेपालले सकेन । यो सबै हुनुमा विश्वासकै अभाव छ । कथित भूराजनीतिक दबाब र प्रभावका नाममा सँधियाली देशको शताब्दीऔँ लामो सम्बन्धको एक–एक हिस्साको फाइदा लिन नेपालले सकेन । नेपालको समृद्धिको गति लिन चीन नै अचुक औषधि होइन ।

तर, चीनको सहयोग र सामथ्र्य जोडेर नेपालले समृद्धिका काम अगाडि लाँदा समृद्धिले दु्रत गति पाउँछ । त्यसमा नेपाल हरेक कोणमा चुकेको छ । नेपाली नेतृत्व चुकेको छ । सत्ता र प्रतिपक्षी दुवै चुकेका छन् । आज चीन दुनियाँको दोस्रो ठूलो अर्थतन्त्र हुँदा चीनको सानो छिमेकी देश नेपाल दक्षिण एशियामा अफगानिस्तानपछिको दोस्रो दरिद्र देश हुन विवश छ । आज चीन विश्व खेलकुदको हिमायती हुँदा नेपाल उच्च पदक ल्याउने शिल्प र शिक्षा चीनबाट लिएर दरिलो उपस्थिति जनाउन असक्षम छ । सन १९६० र १९७० को दशकमा चीन कमजोर हुँदा पनि नेपालले जुन स्तरको फाइदा लिएको थियो । जुन स्तरको विश्वास लिएको थियो आज चीन विश्व मानचित्रका हरेक मानकमा एक से एक भएर अगाडि आउँदा त्यसको फाइदा लिने वातावरण र विश्वास लिन नेपाल अक्षम छ । यो आर्थिक, कूटनीतिक, राजनीतिक सबै कोणबाट एक व्यापक लज्जाको कुरा हो । 
 

टिप्पणीहरू