कोशीमा राप्रपा तत्काल कतै नलाग्ने, आवश्यक परे फेरि निर्णय गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी सरकार गठन प्रक्रियामा तटस्थ बस्ने भएको छ । आज बिहान बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेलगायतका बिषयमा निर्णय लिन उक्त बैठक बसेको थियो ।
बैठकको आधिकारिक धारणा सार्वजनिक गर्दै प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताए । ‘आवाश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले चाँही भने कोशी सरकारका बारेमा तटस्थ बस्ने निर्णय भएको छ,’ बैठकपछि उनले भने ।
कोशी सरकारको भावी नेतृत्वका लागि नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको शेखर कोइराला गुटका केदार कार्की र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङबोले दावी प्रस्तुत गरेका छन् ।
आङ्बोले गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सांसदको समर्थन रहको निवेदन बुझाएका छन् । कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ८ जना र एमालेका ३९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।
दुबै पक्षबाट ४७-४७ सांसदको हस्ताक्षरसहितको दावी परेपछि प्रदेश प्रमुख परशुराम खापुङले निर्णय गरिसकेका छैनन् ।
टिप्पणीहरू