सेनापतिको बाटोमा सास्ती नै सास्ती

सेनापतिको बाटोमा सास्ती नै सास्ती
सुन्नुहोस्

एउटा जर्नेललाई भावी प्रधानसेनापतिका रूपमा सिंगारिँदै छ, अर्का जर्नेलले केही दिनको ‘नायवी’ चलाइदिँदैछन् !प्रभुराम शर्माले अबको भदौमा अवकाश पाएपछि प्रधानसेनापति को हुने भन्ने कुरालाई अहिलेका दुई जर्नेलमध्ये कसको म्याद थपिने र को घर जाने भन्ने कुराले निर्धारण गर्दैछ । तर, त्यसो गर्नुअघि नै प्रभुराम एकपछि अर्को देश घुम्न निस्कने र त्यसक्रममा जो अर्को हप्तादेखि घर जाने भनी चर्चामा आएका छन्, उनैले जातेजाते निमित्तको जिम्मेवारी बहन गर्नुपर्ने अवस्था छ ।

आगामी प्रधानसेनापतिका रूपमा अशोक सिग्देल र ताराध्वज पाँडे प्रतिस्पर्धी हुन् । यो प्रतिस्पर्धामा बहालवाला नेतृत्वले जसलाई साथ दिन्छ, उही म्याद थपमा परी ‘बुट बजार्ने’ स्थितिमा पुग्ने गर्छन् । अहिले ताराध्वज मेरोे स्थिति बलियो भन्दै दंग छन् । तर, जागिर सकिनु १५ दिनअघिबाट बिदा बस्नुपर्ने सरोजप्रताप राणाले आगामी शनिबारसम्म कामुको भूमिका निर्वाह गर्दैै दशैं बिदा घरैमा मनाएर कात्तिक मध्येदेखि भूपू बन्नुपर्ने अवस्था छ । सामान्यतया थोरै समयलाई सरोजप्रतापको म्याद थपिन्थ्यो र उनले घर जानु नपर्ने भए प्रभुराम विदेश जानुअघि नै एउटा निर्णय भइसकेको हुने थियो । तर, उनी फर्किंदैछन्, २७ गते शनिबार । कात्तिकको १२ गते, अर्थात् दशैं बिसर्जित हुने कोजाग्रत पूर्णिमाको भोलिपल्ट सरोजप्रतापको सैन्य सेवा बिसर्जित हुने (अवकाश) मिति हो । त्यसको १५ दिनअघि भनेको असोजको २८ हो । 

दशैं–तिहारलगत्तै नोभेम्बर महिनामा फेरि प्रभुराम चीन जाँदैछन् । त्यसबेलासम्म सरोजप्रताप रिटायर्ड भई वरीयताको पहिलो सूचीमा सीताराम खड्का पुगेका हुन्छन् । उनको पनि सेवा अवधि लामो छैन । अर्कातिर, ताराध्वज नै भावी प्रधानसेनापति भइहाल्छन् भन्ने स्थिति पनि होइन । किनभने, सैनिक सर्कलभित्र उनको आचरणका कुरा अलिक बलियोसँग निस्कन थालेको छ । एक जर्नेलको भनाइ छ, ‘मानौं कि, चिफजस्तो मान्छे जाँड खाएर विदेशीलाई जथाभावी सराप्दै यताउता हिँडिदियो भने नैतिक रूपले सेनाको छविमा संकट पर्छ, त्यो खतरा निजमा विद्यमान छ ।’ उनी नै आगामी प्रधानसेनापतिका रूपमा अगाडि सारिँदै छन् भन्ने कुरालाई बल पुग्ने पक्षका रुपमा प्रभुरामको सदाशयतासहित ताराध्वजले आफ्ना मान्छे महत्वपूर्ण ठाउँहरुमा हालिरहेका छन् । प्रभु्राम फेरि ‘छुपे रुस्तम’ जस्ता † पूर्णचन्द्रले खुलेआम गुट चलाउँथे, यसर्थ उनले के गर्लान् भन्ने अनुमान गर्न सहज हुन्थ्यो । तर, अहिले प्रभुराम कसले भनेको मानिरहेका छन् भन्ने बुझ्न जंगी अड्डाका मैँ हुँ भन्ने हाकिमलाई पनि धौ–धौ परिरहेको छ । 

कसै कसैले अशोक सिग्देललाई अगाडि सारिने अनुमान पनि गरेका छन् । किनभने, उनको कु्रा गराई, हिँडाइ पनि रणनीतिक हिसाबको छ । नेपालमा हायर कमाण्ड तालिमको पहिलो व्यक्ति पनि उनी नै हुन् जो दक्षिण लवीका होइनन् । सेनाभित्र यस्तो ‘नेक टु नेक’ प्रतिस्पर्धा हुँदा फष्र्ट म्यान बनाइएको उदाहरण थुप्रै छन् । नेपालभूषण चन्द र गौरवसमशेर राणाका बीचमा पनि यस्तै प्रतिस्पर्धा थियो । माथिल्लो वरियतामा गौरव नै थिए, तर नेपालभूषणको प्रयास पनि कम्ति थिएन । छत्रविक्रम शाह र प्रज्ज्वलसमशेर जबराको बीचमा पनि त्यस्तै थियो ।

छत्रविक्रम हुन्छु–हुन्छु भन्थे, पछि प्रज्ज्वलसमशेर भए । खासमा सैनिक ऐनमा मेजर जनरल र लेफिट्नेन्ट जनरल बनाउनेबारे ‘यो सिनियर हो, यसैलाई दिनुपर्छ’ भन्ने प्रावधान नै छैन । मन नपरेकोलाई एउटा काण्ड लगाइदिने त हो † गडुलसमशेर जबराको पालामा योगेन्द्रप्रताप राणालाई काण्ड लगाएरै खुस्काइएको थियो । त्यसैले सेनाका कुरा अनुमान, चर्चा र सम्भावनासँग गाँसेर हेर्नुभन्दा नहुँदासम्म पर्खिनु उचित हुने कतिपयको भनाइ छ । 
 

टिप्पणीहरू