मध्यपूर्वको युद्ध र अहिलेको नेपाल तरंग

मध्यपूर्वको युद्ध र अहिलेको नेपाल तरंग

विश्व आज दुई धु्रवमा विभाजित भएको छ । एकातिर चीन, अर्कोतिर अमेरिका र जापान । यी दुई धु्रवबीच चीनको पक्षमा उत्तर कोरिया, रुस, इरान, बेलारुस, सिरिया छन् । अमेरिकासँग युरोप र अष्ट्रेलिया छन् । यद्यपि अमेरिकी गुटहरु विभाजित, घात–प्रतिघातमा संलग्न र आर्थिक संकटबाट ग्रसित, त्रसित छन् ।

उपनिवेशबाट शोषण गरेर प्राप्त हुने अथाह आयश्रोत घट्नु, ल्याटिन अमेरिका र अफ्रिकामा अमेरिका–युरोपविरोधी बढ्दो जनमत र एशियाको बढ्दो सशक्तिकरणको कारण युरोप र अमेरिकाको बजार सुक्दै गएको छ । माओत्सेतुङले ५० को दशकमा नै ‘पश्चिमी हावामाथि पूर्वीय हावा हावी बन्दै गएको’ बताउनुभएको थियो । त्यो भनाई आज सबैले बोध गर्नेगरी प्रकट भएको छ । आर्य सभ्यता र चिनियाँ सभ्यताको पतनपछि झण्डै ३ हजार वर्षसम्म युरोपले विश्वमा शासन गरेकै हो । आज पश्चिमी सभ्यतामाथि पूर्वीय सभ्यता हावी हुँदैछ । पूर्वीय सभ्यतालाई नियन्त्रण तथा अवरुद्ध गर्न एमसिसी आएको छ । 

अमेरिकी घेराबन्दी र धम्कीमा परेर ब्यापक जनविरोध र आफ्नै कार्यकर्ताको चाहनाविरुद्ध एमसिसी पारित गरिएको छ । दुई महिनाभित्र म ९ वटा जिल्लामा एमसिसी विषयक कार्यपत्र प्रस्तोताको रुपमा सर्वपक्षीय, सर्वदलीय अन्तक्र्रियामा सहभागी भएँ । देउवा, प्रचण्ड, ओली र माधव नेपालका जिल्ला नेताहरु नै एमसिसीको विरुद्ध उभिए । एमसिसी पक्षधरका तर्कहरु कमजोर र विपक्षीहरुका बलिया देखिए । एमसिसी पक्षधर रक्षात्मक बन्दै गएको पाइयो । 

प्रम दाहाल चीनको राजकीय भ्रमण गरेर आए । भारत र अमेरिकाको सार्वजनिक धम्कीसमक्ष झुकेर फर्के । प्रचण्डले चीनसँग गरेका सम्झौताहरु त दुई देशका मेयरले पनि गर्न सक्थे । एमसिसीभन्दा चार महिनाअगाडि सम्झौता भएको बिआरआई अनि विद्युत् व्यापार सम्झौता थाती राखे । चीन–नेपाल रेल सेवामा चासो राखेनन् । टाढाको छिमेकीलाई खुशी पार्न नजिकको छिमेकीलाई चिढ्याए । 

एमसिसीका कार्यकारी प्रमुख एमसिसी कार्यान्वयनमा प्रवेश गरेको खुशीयाली उत्सव मनाएर फर्केकी छन् । उनले आयोजना गरेको रात्रिभोजमा प्रमसहित कथित कम्युनिष्ट पार्टीका नेताहरुको सहभागिताले लज्जित बनाएको छ । एमसिसीका मुखियाहरुसँग बसेर रत्यौलीमा नाच्नेहरु देशभक्त हुन सक्दैनन् । माओवादी केन्द्र चार पार्टी भएको समाजवादी मोर्चा नेपालको सदस्य हो । समाजवादी मोर्चाको मर्म भनेको ‘राष्ट्रिय स्वाधिनता र समाजवादको निम्ति संघर्ष’ हो । एमसिसीमा सम्झौता गर्नु भनेको नवउदारवादलाई स्वीकार गर्नु हो र आइपिएसको अंग एमसिसी स्वीकार गर्नु भनेको असंलग्न परराष्ट्र नीति अस्वीकार गर्नु हो ।

यसरी प्रचण्डले नै समाजवादी मोर्चाको मूल मर्ममाथि प्रहार गरेका छन् । २०३६÷०३७ सालको जनमत संग्रहमा सूर्यबहादुर थापाले देशको ढुकुटी रित्याएका थिए । त्यसलाई भरथेग गर्न प्रम थापाका अर्थमन्त्री प्रकाशचन्द्र लोहनी ऋण माग्न विश्व बैंकसमक्ष पुगे । विश्व बैंकले उदारवादी अर्थनीति स्वीकार गर्ने शर्त राख्यो । पञ्चहरुले विषय किनारा नलगाउँदै पञ्चायती व्यवस्था ढल्यो । सन् १९९० पछि रामशरण महत अर्थमन्त्री रहेको कांग्रेस सरकारले उदारवादलाई अगाडि ल्यायो । त्यही नीतिले नेपालमा भएका उद्योग बन्द गरिए वा बेचिए । शिक्षा र स्वास्थ्यमा राज्यले लगानी बन्द ग¥यो । सरकारी अस्पताल र शैक्षिक संस्थामा लगानी रोकियो । आजको आर्थिक दूरावस्थाको कारण त्यही हो । प्रचण्ड त्यही गल्तीको पछिल्लो कारिन्दा भएका छन् । माक्र्सदेखि माओसम्मको समयका संशोधनवादीहरुले माक्र्सवादीमाथि नै आक्रमण गर्थे । आजको संशोधनवादले रणनीतिमा सम्पूर्ण रुपले समर्थन गर्छ तर कार्यनीतिमा सुधारवादसम्म अडिन्न र दलाल पुँजीवादको नांगो अनुशरण गर्दछ । प्रचण्डको एमसिसीसँगको रात्रिभोजले त्यही विषयलाई पुष्टि गरेको छ । 

अमेरिकाले ‘विश्व अर्डर’ समाप्त भएको घोषणा गरेको छ र उसको शब्दमा विश्व अराजकता पैदा भएको छ । त्यसको अर्थ के हो भने विश्वयुद्धतिर संसार धकेलिएको छ । अमेरिकी दबाबमा इरान, उत्तर कोरिया, क्युबा, बर्मा आदिमाथि लगाइएका प्रतिबन्धहरु अस्वीकार गरिएका छन् । आणविक अस्त्रको प्रसार र विस्तार तीव्र भएको छ । अमेरिका र उसको गठबन्धन टुलुटुलु हेरेर बस्न बाध्य छ । यो अवस्थालाई विद्रोह र स्वाभिमानको युग भन्न सकिन्छ तर अमेरिकाले विश्व अराजकताको स्थिति भनेको छ । विश्वव्यापी रुपमा अमेरिकाविरोधी प्रतिरोध चलिरहेका बेला यसै हप्ता प्यालेष्टिनी विद्रोही समूह हमासले २० मीनेटमा ५ हजार रकेट इजरायलमाथि प्रहार गरेको दाबी गरेको छ । एउटा विद्रोही समूहले गरेको कमाण्डो शैलीको आक्रमणले इजरायलको अत्याधुनिक सेना र विश्वमै स्थापित गुप्तचर विभागलाई असफल बनाएको छ । इरानले आणविक शक्ति निर्माण गरेको र इजरायलले आणविक शक्तिसम्पन्न उसको अस्तित्व देख्न नसक्ने धम्की दिइरहेका बेला एउटा विद्रोही समूहको आक्रमण रोक्न नसक्ने अवस्थामा इजरायल पुगेको छ । इजरायललाई अमेरिकाको ‘पाल्तु’ भन्ने गरिन्छ । यो घटनाले अमेरिकी वर्चश्वप्रति नै प्रश्न उठेको छ । उसको सुरक्षा नीति खोक्रो देखिएको छ । 

इजरायलमा भएको घटनामा नेपाली कामदार र विद्यार्थी पनि पीडित भएका छन् । त्यसको मुख्य दोषी नेपाल सरकार हो । इजरायलजस्तो द्वन्द्वरत, असुरक्षित देशमा श्रम बेच्न र अध्ययन गर्न जानुपर्ने अवस्था र बाध्यता सिर्जना गर्ने सरकार नै मुख्य दोषी हो । हमासले नेपाली वा कुनै धार्मिक समुदायमाथि आक्रमण गरेको होइन । इजरायलमाथि आक्रमण गरेको हो । हमास–इजरायल युद्धमा आ–आफ्नो रोटी सेक्ने षड्यन्त्र अमेरिका र भाजपाले (उनीहरुका नेपाली दलाल) गर्न सक्छन् । इजरायलमा रहेका नेपालीहरुको पीडा र उनीहरुका आफन्तको पीडाको कारण दलाल सरकार र नेताहरु हुन् । निर्दोष मुस्लिममाथि आक्रोश पोख्नु गलत हुन्छ । नेपालका मुस्लिमहरु देशभक्त छन् । नेपालप्रति बफादार छन् । उनीहरु नेपालको राष्ट्रिय झण्डा र धार्मिक लोगो दुवै बोकेर  र्‍याली गर्छन् । मध्यकाल (मानदेवदेखि पृथ्वीनारायण शाहको उदयसम्म) मा व्यापार गर्न र बेलाबेला शरण लिन सुन, चाँदी, हिराको थुप्रो बोकेर आएका थिए । राजदरबारअगाडि मस्जिद बनाउने अनुमति राजाहरुले त्यसै दिएका होइनन् । एकीकरणताका पृथ्वीनारायण शाहलाई हतियार आयात गर्न र बनाउन सिकाउने मुस्लिम हुन् भन्ने तथ्य लुकाइएको छ । त्यसकारण आर्थिक, सैन्य र भावनात्मक रुपले समेत मुस्लिम समुदाय देश निर्माणमा अभिन्न रुपले जोडिएको छ । 

इजरायल र हमासको संघर्षमा निर्दोष जनता र विदेशी युवाले पीडा भोग्नुपर्ने अवस्था आउनु हुँदैन । नेपाल सरकारले घाइतेको उपचार, सुरक्षा र उद्धारको काम गर्नुपर्छ । धरान, सर्लाही र नेपालगञ्जको घटना एमसिसी र भाजपाका भक्तहरुले योजनाबद्ध रुपमा प्रायोजन गरेको देखिन्छ । त्यसप्रति सचेत गराउन हामीले २० गते काठमाडौंमा प्रदर्शन र जनसभामार्फत जनसन्देश प्रवाह गर्‍यो  । देशका कैयौं भागमा सद्भाव  र्‍याली गर्‍यो  र गर्दैछौं । असोज १८ गते भैरहवामा मुस्लिम अगुवाहरुले असुरक्षित भएको महसुस गरेका थिए । त्यसो हुनु दुःखद् विषय हो । यस्तो अवस्थाले हाम्रो पुँजीलाई पलायन गराउन सक्छ र आतंकवादलाई प्रोत्साहित गर्दछ । 

इजरायल–हमासबीचको घटनाले मध्यपूर्व पूरै तनावग्रस्त भएको छ । यो घटनाले अमेरिकी वर्चश्व र उसको प्रविधिप्रति प्रश्न उठेको छ । इजरायलको विस्तारवादी नीति र अमेरिकाको उक्साहट जिम्मेवार छ । एक वर्षअगाडि मात्र इजरायलले प्यालेष्टिनीको पवित्र शहर जेरुसेलम कब्जा गरेर देशको राजधानी नै सार्दा अमेरिकाले त्यसलाई मान्यता दिएको थियो । आज त्यो आक्रोश पोखिएको छ । इजरायलसँग शान्ति वार्ता गरेकोप्रति असन्तुष्ट भएर बनेको प्यालेष्टिनी राष्ट्रवादीहरुको (यासिर अराफातविरोधी) संगठन हो हमास । हामीले लहलहैमा विचार र समाचार प्रवाह गर्नु हुँदैन । इजरायलको घटनाले विश्वलाई एकपटक फेरि धु्रवीकरण गरेको छ । अमेरिकी उक्साहटले जसरी युक्रेनको सुरक्षा भएन, त्यसैगरी इजरायलको पनि सुरक्षा सम्भव छैन भन्ने तथ्यलाई घटनाहरुले पुष्टि गरेका छन् । 

(लेखक विप्लव नेकपाका नेता हुन्)
 

टिप्पणीहरू