हवाई जहाजको भाडा घटाउन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र
चाडपर्वको मौका छोपेर हवाई यातायातको भाडा बढाइएको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले आपत्ति जनाएको छ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समेत स्वेच्छाचारी ढंगले हवाई टिकटको मूल्य निर्धारण गरिएको भन्दै नेविसंघले भाडामा भएको अनियमितता रोक्न आग्रहसमेत गरेको छ । अध्यक्ष दुजाङ शेर्पाले संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री सुदन किरातीलाई आज ज्ञापनपत्र बुझाउँदै जनताविरोधी उक्त कार्यको तत्काल अनुगमन गर्दै सूक्ष्म निगरानी गर्न माग गरे ।
साथै, हवाई टिकट लिन सर्वसाधारण हप्तौं दिनसम्म विमानस्थल धाउनुपर्ने परिस्थितिको अन्त्य गर्न पनि ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।
हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउनुपर्ने उल्लेख गर्दै जहाजको टिकटमा सबैको समान पहुँच हुनेगरी व्यवस्था मिलाउन, भाडामा एकरुपता कायम गर्न, विद्यार्थीलाई सहुलियत प्रदान गर्न र नियमित हवाई यातायात सञ्चालन गर्नसमेत नेविसंघको माग छ ।
टिप्पणीहरू