२० वर्षपछि परिवार खोज्दै नेपालतिर
– शंकर श्रेष्ठ
चार वर्षको उमेर । ०७० सालमा घर जल्यो । त्यसैमा आमाको ज्यान गयो । गरिबीका कारण बुबा पनि पागलजस्तै बन्नुभयो । त्यसपछि शुरु भयो धादिङको नीलकण्ठ नगरपालिका–२ बसाहका विवेक र विशाल परियारको दुःख ।
परियार जातिमा जन्मिएका विवेक चार वर्ष, विशाल ६ वर्षको हुनुहुन्थ्यो । पैंचो मागेरै भए पनि पकाएर खान दिने आमा बित्नुभयो, बुबा रातदिन भौंतारिएर हिँड्नुहुन्थ्यो । दलित, त्यसमाथि गरिब परिवारमा जन्मिएकै कारण दाजुभाइ परिवारबाट बेवारिसे बनेर काठमाडौंस्थित अनाथालयमा पुग्नुभयो ।
त्यसपछि फ्रान्सेली नागरिक बारोन्नी प्याट्रिकले नेपाल सरकारकै अनुमतिमा पालन पोषणको लागि फ्रान्स लानुभयो । विवेक र विशाललाई लामो समयसम्म आफूहरू नेपाली हो भन्ने नै थाहा भएन । उतै पढ्यो, उतै हुर्कियो । नेपाली हुँ भन्ने थाहा भएर विगत सम्झाएपछि जन्मदिने बुबा, परिवार र आफन्त खोज्दै केही दिनअघि नेपाल आइपुग्नुभएको छ । नेपाली र अंग्रेजी भाषा बोल्नै नजान्ने विवेक भन्नुहुन्छ, ‘मेरो परिवार र देश पुग्नैपर्छ भन्ने लागेर आएँ ।’
विवेक अहिले २४ वर्ष पुग्नुभयो । विशाल २६ वर्ष । दुई भाइ नै अहिले फ्रान्सकै नागरिकता लिएर उतैै जागिरे हुनुहुन्छ । फ्रान्समा कर्म दिने बाबु बारोन्नीसहित जन्मदिने बाबु भेट्न विवेक नेपालको घर धादिङ आइपुग्नुभएको छ । विवेक भन्नुहुन्छ, ‘स्कूल कलेज पढ्दा नाम सुनेको नेपाल मेरै देश पो रहेछ, धेरै संघर्ष गरेर परिवार पत्ता लाग्यो अनि आएँ । दाइ पनि केही समयपछि आउनुहुन्छ ।’
‘घर नेपालमा भन्ने थाहा त पाएँ । तर, ठाउँ र थर पत्तो भएन । खोज्न थालेको दुई वर्षपछि बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था प्रयास नेपालले बुबा र घर ठेगाना पत्ता लगाइदियो,’ विवेकले भन्नुभयो । नेपालमा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्था खोज्ने क्रममा प्रयास नेपाल भेटेको र उसलाई आफ्नो घर परिवार नेपाल भएकोले खोजिदिन इमेलमार्फत आग्रह गरेपछि दुई वर्षमा पत्ता लागेको हो ।
‘सामाजिक सञ्जालबाट बुबा र भाइलाई देखें, बोल्न नआए पनि ट्रान्सलेटरको प्रयोग गरेर म्यासेजमा भाइसँग कुरा गरेँ’ कुराकानी हुन थालेको पाँच महिनापछि नेपाल आइपुगेको उहाँले खुशी सुनाउनुभयो ।
‘हाम्रो बारेमा उल्लेख गरेर प्रयास नेपाललाई इमेल लेख्यो । विवेक र विशाललाई जन्म दिने बुबासँग पनि भेट्न पाइयो । हामी सबै नेपालमा एकै ठाउँ भेट भयौं । प्रयास नेपालकै कारण विवेक र विशालले आफ्नो जन्मिएको परिवार र समाज देख्न, भेट्न पाए । सबैप्रति आभारी छौं’, विवेकसँगै आउनुभएका फ्रान्सेली बुबाआमाले भन्नुभयो ।
‘नेपालबाट लिएर जाँदा सानो सानो दाजुभाइ अहिले ठूलो भइसक्यो । उनीहरू अब आफैँ कमाउने आफैँ हिँड्न सक्ने बनिसक्यो । केही दिन नेपाल बसेर हामी फर्किन्छौं‘, विवेकका फ्रान्सेली बुबा प्याट्रिकले भन्नुभयो ।
विवेकसँगै संगीता पनि नेपाल आउनुभएको छ । प्याट्रिकका अनुसार संगीता पनि नेपाली हो । तर उसलाई नेपालको घर ठेगानाबारे पत्तै छैन । विवेक जस्तै जन्मदिने आमाबुबा र परिवार भेट्ने ठूलो रहर भए पनि पुरा हुन नसकेको संगीताले बताउनुभयो । संगीतालाई आफ्नो थर पनि यकिन छैन । आफू बुझ्ने नहँुदै विवेक र विशालका दाजुभाईसँगै फ्रान्स पुग्नुभएकी संगीता अहिले पनि परिवारको खोजीमा हुनुहुन्छ ।
२० वर्षपछि खुशी लिएर आयो : श्याम परियार
घरसँगै जलेर श्रीमती त गुमाएँ । बाँचेका दुई छोराको पनि अत्तोपत्तो नभएपछि आश मारिसकेको थिएँ । २० वर्षपछि एक्कासी छोरा सम्पर्कमा आएको खबरले एकछिन त बेहासी जस्तै भएछु ।
भएको घर जल्यो । तुरुन्तै अर्काे घर बनाउन पनि सकिन । स–साना छोरा खुवाउन, सुताउन, बचाउनै मुश्किल भयो । धेरै पढाइदिएर ठूलो मान्छे बनाइदिने आशमा काठमाडौं पठाएको थिएँ । काठमाडौमा हुँदा भेट्न पनि गएँ । सल्लाहले नै छोरालाई विदेश पठाएको थिएँ । तर, फ्रान्स पुगेको छोरालाई जति खोजे पनि सम्पर्क गर्न सकिन । अनि छोरा भेटिने आशै गुमाएको थिएँ ।
अलिअलि हिँडडुल गर्न सक्ने भएपछि घर बनाएँ । कान्छी श्रीमती ल्याएँ । बच्चा पनि भयो । ‘घर र जेठी श्रीमतीसँगै गुमेको खुशी विस्तारै फर्किंदै गर्दा आफ्ना छोराहरू भेटे । अब त संसारै मेरोझैं लागेको छ,’ परियारले खुशी सुनाउनुभयो । जन्मदिने आमा गुमे पनि कान्छी आमापट्टिबाट विवेकको नेपालमा तीन जना बहिनी र एक जना भाइ छ ।
यसरी नेपाल आइपुग्नुभयो विवेक
– दामोदर अर्याल, कार्यकारी निर्देशक, प्रयास नेपाल
दुई वर्षअघि विवेक र विशालको बारेमा लेखेको एउटा इमेल फ्रान्सबाट आयो । नेपालको दुई जना भाइहरू एडप्ट गरेर फ्रास आएको र भाइहरूकाअनुसार धादिङ जिल्ला नीलकण्ठ नगरपालिका घर भएको भनिएको थियो । त्यति इमेलको आधारमा खोज्न थाल्यौं ।
इमेलमा विवेक र विशालको थर विक लेखिएको थियो । नीलकण्ठ नगरपालिकाभित्र धेरै खोज्ने प्रयास ग¥यौं । विभिन्न व्यक्ति, शिक्षक, वडा अध्यक्षहरूसँग पनि बुझ्ने र खोज्ने गरियो । पत्ता लागेन ।
खोज्न थालेको झण्डै चार महिनापछि नीलकण्ठ नगरपालिका–२ को सोह्रघर÷बसाह क्षेत्रमा परियार थर भएको एक जनाको आगलागीमा घर जलेको र त्यही आगोमा परेर आमाको मृत्यु भएपछि हराएका दुई जना हुनसक्छ भन्ने आशंकामा त्यहाँका अगुवाहरूले बुझ्नुस् भनेपछि फेरि इमेल लेख्यौं । परियार नै हो भनेपछि दुबै परिवारबीच कुरा गरायौं ।
‘विवेक र विशालको थर विश्वकर्मा नभई परियार रहेछ । घर जल्दा आमा पनि सँगै जलेको भनेर सूचना पाएका थियौं । गाउँमा सबैलाई सूचना पु¥यायौं । सबैको सहयोगमा दुई परिवारको मिलन गराउन सफल भयौं,’ प्रयास नेपाल धादिङका अध्यक्ष दामोदर अर्यालले भन्नुभयो ।
टिप्पणीहरू