कोशीमा राप्रपाबाहेक सबै एकातिर, कार्कीलाई भोट खनियो
काँग्रेसमा विद्रोह गरेर एमालेको सहयोगमा मुख्यमन्त्री बनेका केदार कार्कीले विश्वासको मत पाएका छन् ।
आज प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा राप्रपा बाहेकका सबै दलले पक्षमा मतदान गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा कार्कीले ८६ मत पाएका छन् ।
आज ९१ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी थिए । एक जना अनुपस्थित भए भने उपसभामुख सिर्जना दनुवारले मत दिन पाइनन् । राप्रपाका छमध्ये एक सांसद अनुपस्थित रहँदा पाँच मत विपक्षमा परेको छ ।
संविधानको धारा १६८ को उपधारा २ र ३ का सरकारले विश्वासको मत लिन नसकेपछि उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान भएकोमा काँग्रेसका सांसद कार्कीले पार्टीमा विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । कांग्रेसका आठ विद्रोही सांसद र एमालेका ३९ जनाले उनको पक्षमा हस्ताक्षर गरेका थिए ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्गबो मौसमले पनि ४७ सांसदको समर्थन जुटाएर मुख्यमन्त्री दाबी गरेका थिए । उनलाई माओवादीसहित काँग्रेस, एकीकृत समाजवादी र जसपा संसदीय दलले संस्थागत निर्णय गरेर समर्थन गरेका थिए । दुबैजनाले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
पछि बालुवाटारमा काँग्रेसका विद्रोही नेता शेखर कोइरालासहित प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले गठबन्धन कायम राख्ने सहमति गर्दै कार्कीलाई गठबन्धनको उम्मेदवार बनाउने निर्णय गरेका थिए । त्यसैका आधारमा काँग्रेस, माओवादी र समाजवादी पनि आज विश्वासको मतको पक्षमा भोट हालेका हुन् ।
टिप्पणीहरू