गाजाको अस्पतालमा भएको आक्रमणको एमाले अध्यक्षद्वारा निन्दा

गाजाको अस्पतालमा भएको आक्रमणको एमाले अध्यक्षद्वारा निन्दा
सुन्नुहोस्

नेकपा एमालेले प्यालेस्टाइन र इजरायलको सीमा क्षेत्र गाजा सहरको अल अहरी अरब अस्पतालमा गएराति भएको आक्रमणले मानवीयताका सबै सीमा उल्लङ्घन भएको प्रतिक्रिया दिएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति गर्दै उक्त अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानून, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको बताउनुभयो  । 

‘नेकपा (एमाले) शान्तिको पक्षमा छ । जुनसुकै खाले द्धन्द्ध र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्धारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ । निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानून, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा, आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी पाँच सयभन्दा बढी मारिएको खबरले स्तब्ध बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले सो आक्रमणको कडा शब्दमा निन्दा र भत्र्सना पनि गर्नुभएको छ । 

साथै, यस किसिमको क्रुर र अमानवीय आक्रमण तत्काल रोक्न आह्वान गर्दै उद्धार तथा अल्पकालिन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरु जानका लागि अनुमति दिन पनि एमालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

टिप्पणीहरू