नेताका नाममा उपहार आउन थालेपछि रास्वपाले भन्यो, ‘कष्ट नगर्नुहोला’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चाडबाडको नाममा उपहार नपठाउन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेको छ ।
आज विज्ञप्ति जारी गर्दै रास्वपाले पार्टीले उपहार स्वीकार नगर्ने नीति लिएकाले दुःखकष्ट नगर्न अनुरोध गरेको हो । चाडबाड शुरु भएसँगै पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा विभिन्न नेताको नाममा उपहार आउन थालेको उल्लेख गर्दै विज्ञप्तिमा कुनै पनि किसिमको उपहार नपठाउन भनिएको छ ।
उपहारको आकर्षण र प्रलोभनबाट राजनीतिक पार्टी र राजनीतिकर्मी मुक्त रहनुपर्ने रास्वपाको भनाई छ । आफ्ना निकटतम परिवारजनबाहेक अन्य कुनै व्यक्ति तथा संस्थाबाट कुनै पनि उपहार नलिने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, कुटनीतिक नियोगका अधिकारीहरुसँगको शिष्टाचार भेटमा आ–आफ्नो मुलुकको पहिचान झल्काउने मायाको चिनो वा कुनै राष्ट्रिय अवसरमा संस्था वा अन्तर्राष्ट्रिय नियोगहरुबाट सन्देशमूलक पत्र, कार्ड वा सामान्य मायाको चिनो लिन दिन सकिने जनाइएको छ ।
‘जनसरोकारका सवालमा सक्रिय रहन उपहारको आकर्षण र प्रलोभनबाट कुनै पनि राजनीतिक पार्टी र राजनीतिकर्मी मुक्त रहनुपर्छ भन्ने अवधारणा अनुरुप रास्वपाले कुनै पनि खालका उपहार स्वीकार नगर्ने नीति लिएको छ । तसर्थ, जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारमा आधारमा नभई जनसरोकारका मुद्दा केन्द्रीत हुनुपर्ने भएकाले हाम्रो यो नीतिलाई सकारात्मक शुरुवातको रुपमा ग्रहण गरिदिनुहुन’, विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले आफ्ना पार्टीका केन्द्रीय सदस्य, सांसद तथा नेतृत्व तहका सदस्यहरुलाई उपहार नलिन सुसूचितसमेत गराएको छ ।
टिप्पणीहरू