राहुल गान्धीको कुकुरविरुद्ध अदालतमा मुद्दा
कांग्रेस आइका नेता राहुल गान्धीले हालै आफ्नी आमा सोनिया गान्धीलाई एउटा कुकुर उपहार दिएका थिए । नूरी नामको उक्त कुकुरको विवादमा परेको छ ।
कुकुरको नामलाई लिएर कांग्रेस आइका पूर्वअध्यक्ष राहुलविरुद्ध उत्तर प्रदेशको प्रयागराजका एक व्यक्ति अदालतमा पुगेका छन् । अदालतमा उजुरी दर्ता गर्ने व्यक्ति अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम)का राज्य प्रवक्ता मोहम्मद फरहान हुन् ।
उनका अनुसार कुकुरको 'नूरी' नाम राखेर उजुरीकर्ताले मुस्लिमहरूकाे धार्मिक भावनामा चोट पुगेको बताएका छन् । 'नूरी' शब्द विशेषगरी मुस्लिम धर्मसँग जोडिएको र पैगम्बर मोहम्मदसँग सम्बन्धित रहेको उनको भनाइ छ । फरहानका वकिलका अनुसार कुरान माजिद सुरा नूर आयत ३५ मा पनि ‘नूरी’ शब्द उल्लेख गरिएको छ । उनले मुस्लिम युवतीहरुको नाम पनि ‘नूरी’ रहने गरेको बताए ।
फरहानका अनुसार राहुललाई कुकुरको नाम परिवर्तन गरेर माफी माग्न भनेका थिए तर उनले त्यसो गरेनन् र धार्मिक भावनामा चोट पुर्याए । त्यसपछि अदालत जान बाध्य भएकाे उनले बताए ।
उनले भनेका छन् कि यसो गरेर राहुल गान्धीले मुस्लिम समुदायका केटीहरू र विशेषगरी माेहम्मद पैगम्बरको अपमान गरेका छन् । इस्लाम धर्म अस्तित्वमा आएदेखि अहिलेसम्म कुनै पनि मुस्लिम परिवारले जनावरको नाम ‘नूरी’ राखेका छैनन् ।
अदालतले फरहानलाई नोभेम्बर ८ मा उनको बयान रेकर्ड गर्न बोलाएको छ । उजुरीलाई विचार गरेपछि अदालतले राहुल गान्धीलाई पनि बोलाउन सक्ने जनाइएको छ ।
खासमा राहुल गान्धीले हालै आफ्नो युट्युब च्यानलमा एक भिडियो सेयर गरेका थिए, जसमा उनले भनेका थिए कि जब उनी गोवा भ्रमणमा थिए, त्यहाँको एक परिवारले उनलाई एउटा कुकुर उपहार दिएको थियो । उनले यो कुकुरलाई दिल्ली ल्याए र आफ्नी आमालाई उपहार दिए ।
भिडियोमा उनले 'म तिमीलाई (सोनिया गान्धी) मेरो परिवारको नयाँ सदस्य, जसको नाम नूरी हो, सँग परिचय गराउन चाहन्छु' भनेको सुन्न सकिन्छ । त्यसपछि राहुलले यो कुकुर आफ्नी आमालाई दिन्छन् ।
यो भिडियो सार्वजनिक भएपछि फरहान अदालत पुगेका हुन् ।
टिप्पणीहरू