एमालेले आगामी माघभित्र अधिवेशन सकाउने

एमालेले आगामी माघभित्र अधिवेशन सकाउने

नेकपा एमालेले जिल्ला र पालिका तहका अधिवेशनहरु आउँदो माघभित्र सम्पन्न गर्न आवश्यक कार्ययोजना तर्जुमाको निम्ति सम्बन्धित कमिटीलाई परिपत्र गरेको छ । अस्ति बसेको एमाले केन्द्रीय संगठन विभागको बैठकले जिल्ला र पालिका तहका पार्टी अधिवेशनहरु माघभित्र सम्पन्न गर्ने निर्णय गरेको बताइएको छ । 

प्रदेश कमिटीको अधिवेशन निर्धारित समयमा सम्पन्न भएपछि एमालेले जिल्ला, पालिका, वडा र टोल तहका अधिवेशन आयोजना गर्ने छ । बैठकले फागुन र चैतमा सदस्यता नवीकरण अभियानसँगै वडा तथा टोल तहका पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ । 

केन्द्रिय संगठन विभागबाट प्रमाणिकरण गरिएको नवीकृत सदस्यहरुको सूचीमा रहेका पार्टी सदस्यहरुले मात्र स्थानीय अधिवेशनको प्रक्रियामा सहभागिता जनाउन पाउने छन् । त्यस्तै, असारदेखि असोजभित्र सम्पन्न गर्ने भनिएको प्रदेश तथा जिल्ला तहका अधिवेशन मंसिरभित्र आयोजना गर्ने जनाइएको छ ।

परीक्षणकालमा रहेका नयाँ पार्टी सदस्यहरुलाई प्रारम्भिक प्रशिक्षणका लागि केन्द्रीय पार्टी स्कुलसँग परामर्श गर्ने, साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई खुला गर्ने, विभिन्न कारणले कमिटीको कारबाहीमा परेर गल्ती स्वीकारेलाई उपयुक्त जिम्मेवारी दिने एमालेको निर्णय छ । 

त्यसैगरी, विभाग प्रमुख काशीनाथ अधिकारीले प्रस्तुत गरेको २०७९ र २०८० मा सम्पन्न पार्टी सदस्यता नवीकरणसम्बन्धी प्रतिवेदनलाई बैठकले अनुमोदन गरेको छ । भारत–प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यहरु बाहेक मुलुकभित्रका सदस्यहरुमध्ये संगठन विभागले साढे पाँच लाख सदस्य प्रमाणिकरण गरेको जनाइएको छ ।

टिप्पणीहरू