माथि मिसाइल पड्किरहेछ, तल नेपालीको मुटु धड्किरहेछ
‘हामी युद्धभूमिमै छौँ, इजरायलको गाजापट्टीमा छौँ । बंकर सानो छ, एक हप्तादेखि यहींभित्रै छौँ । पानी र चाउचाउ खाँदै दिन काटिरहेका छौँ । हामीलाई इजरायली सेनाले सुरक्षा दिइरहेको छ । अर्कोतिर विद्रोहीहरूले आतंक मच्चाइरहेका छन्,’ तीन वर्षअघि इजरायल बसिरहेका राजेन्द्रले भने, ‘हामी मृत्युबाट छलिएका हौँ । केराबारी र च्याउबारीमा काम गछौँ । अहिले काम ठप्प छ । खाल्डोभित्रै थुनिएका छौँ ।’
अघिल्लो शनिबारसम्म कृषि कम्पनीमा काम गर्थे । तर अहिले काम रोकिएको छ । उनी बंकरभित्र छन् । इजरायलमा युद्ध जारी छ ।राजेन्द्रका लागि एकाएक बज्ने ‘साइरन र बमबारी’ नौलो लाग्दैनथ्यो । तर शनिबार बिहानै हमासले गरेको हमला भने डरलाग्दो भैदियो । ‘आतंकवादीले हामी यहुदी होइनौँ भन्दा पनि गोली हाने,’ उनले रिसाउँदै भने ।गाजाछेउको इजरायली बंकरमा राजेन्द्रजस्ता दर्जनौँ विदेशी कामदारहरू छन् । हमासको आक्रमणमा परी उनका तीन जना थाई साथीले ज्यान गुमाए । उनीहरू सँगसँगै केराबारीमा काम गर्थे । सँगसँगै खान्थे । सँगसँगै छुट्टी मनाउँथे तर राजेन्द्रले तीनै साथी गुमाएका छन् ।
राजेन्द्र हिजोआज नेपाल फर्किने सुरमा छैनन् । उनी जन्मभूमिलाई शान्तिभूमि मान्छन् तर कुनै सम्भावना देख्दैनन् । इजरायलमा युद्ध भए पनि ‘ज्यान जोगाउँदै, पैसा कमाउँदै’ बसिरहेको सुनाउँछन् उनी । उनको एउटै कामना छ– ‘आतंकवादीहरूको हार होस्, इजरायलले युद्ध जितोस् ।’प्यालेस्टाइनी लडाकु समूह ‘हमासको आतंक’ छिचोल्दै इजरायलबाट शुक्रबार बिहानै जन्मभूमि फर्किएका छन् दर्जनौँ नेपाली । एघार महिना इजरायलमै बस्नेगरी गएका नेपाली ‘एक महिना नपुग्दै खाली हात’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।
नेपाल सरकारको पहलमा नेपाल फर्किएका २ सय ५४ नेपाली ‘मध्यपूर्वको द्वन्द्व छल्दै’ दशैँ मनाउन गाउँतिर हिँडिसके ।कालीकोटका धनकृष्ण आचार्य अर्थात् ‘किशोर’ इजरायलले युद्धको ऐलान गर्दा लेबनानपट्टी थिए । गाजापट्टीमा बमबारी हुँदा बंकरभित्रै थिए । ‘महसुस हुनेगरी युद्ध आफ्नै आँखाले देखियो । छोटो समयको इजरायल बसाइमा धेरै कुराहरू सिकियो,’ उनी भन्छन् ।‘आतंकवादी’हरूले अघिल्लो हप्ता इजरायलमाथि एकाएक आक्रमण गर्दा उत्तरपट्टी थिए उनी । तर, हानाहान भइरहेको थियो गाजापट्टी । र, ‘बेस्सरी आतंक’ फैलिँदै थियो देशभर ।
अघिल्लो शुक्रबार यहुदीहरू धर्म–उत्सवमा थिए । सूर्य अस्ताएपछि ‘झण्डै २५ घण्टा’ शनिबार सूर्य नअस्ताउञ्जेल ‘सब्बात’को समय थियो । यहुदीहरू ‘सब्बात’मा सबै कामकाज भुलिदिन्छन् । बाँकी दिनहरूमा निकै काम गर्छन् ।त्यही मौन–समयको मौका छोपेर ‘आतंकवादी हमास’ले जल, जमिन र आकाशबाट आक्रमण ग¥यो ।उनीसित बम पड्किँदा, जमिनमुनि लुक्दा र त्यसअघि दर्जनौँ देशका साथीभाइसँग सँगसँगै काम गर्दाका अनेकौँ किस्सा छन् । र, अघिल्लो शनिबार जीवनमा एकैपटक आइलाग्यो– अलिकति डर, अलिकति त्रास र अलिकति रहर । एकातिर बमबारी, अर्कोतिर ठूलो समूहमा भागाभाग ।
किशोर घर फर्किंदा खुशी छन् । तर त्योभन्दा धेरै दुःखी छन् । हमासको आक्रमणबाट ज्यान गुमाएका दशजना नेपालीलाई सम्झिरहेका छन् । ‘नेपाल सरकारलाई धन्यवाद छ । म चाँडै घर आइपुगेको छु तर मजस्तै एउटा सपना बोकेर इजरायल गएका दशजना साथीसँगै आकाशबाट आएनन्,’ किशोरले भने ।‘हमास लडाकूहरूको आक्रमणबाट कसरी मारिए नेपाली’ भन्ने सबैतिर छ । ‘साथीहरू बंकरमा थिए, आतंकवादीहरूले बंकरभित्र दुइटा ग्रिनेड फ्याँक्दा ज्यान गुमाएको मैले सुनेँ । पहिलो ग्रिनेड विपिन भन्ने साथीले हमासतिरै फर्काइदिएका थिए रे, दोस्रो ग्रिनेड छुन नपाउँदै पड्कियो र दशजनाको मृत्यु भयो । अहिले ती विपिन बेपत्ता छन्,’ किशोर सुनाउँछन् इजरायलको कहानी ।
अघिल्लो हप्तादेखि इजरायल युद्धको सनसनीपूर्ण खबर सबैतिर फैलियो । मिडिया र सामाजिक सञ्जालमा युद्धका दृश्यबाहेक केही छैनन् । तर हमासले इजरायलमाथि आक्रमण गर्दा किशोरहरू च्याउ कम्पनीमै थिए । ‘साउथमा निकै आतंक थियो । नर्थतिर त्रास । ४ घण्टा काम गरेपछि खाना खाँदैथियौँ । एकाएक साइरन बज्यो । खाँदाखाँदै थाल समातेर बङ्करभित्र भाग्यौँ,’ उनले भने ।दशैँको मुखमा ‘दशा’ बनेर आइलागेको ‘इजरायल–हमास युद्ध’ले दशजना नेपालीको ज्यान लग्यो । शुक्रबार साढे दुईसय नेपाली विद्यार्थी काठमाडौँ फर्किए पनि काम खोज्दै इजरायल गएका सयौँ मानिस ‘युद्धभूमि’मै छन् ।
‘अरबी र यहुदीबीच मर्ने–मार्ने’ क्रम जारी छ । दुवैपट्टिका हजारौँ मानिसले ज्यान गुमाइसके, लाखौँ विस्थापित छन् । गाजापट्टी कुहिँरोभित्र रुमल्लिएको छ । इजरायली सेनाका ट्रकहरूले इजरायल–गाजापट्टीको सडक जाम छ । इजरायली सेनाले शनिबार गाजामा रहेका ११ लाख मानिसलाई दक्षिणतिर सर्न उर्दी जारी गरेको छ । गाजामा पानी र बिजुलीको आपूर्ति बन्द गरिएको छ । युद्ध देशभर फैलिएको छ ।इजरायल–हमास युद्धले स्वतन्त्र नागरिकसहित सामाजिक कार्यकर्ता र स्थलगत रिपोर्टिङमा खटिएका दर्जनौँ मिडियाकर्मीको ज्यान लगेको छ । गाजा र इजरायलको राजधानी क्षेत्रको रिपोर्टिङमा खटिएका पत्रकारहरू सुरक्षित छैनन्, तैपनि युद्धको कहालीलाग्दो कथा–व्यथा सुनाइरहेका छन् ।
‘युद्धले सबै भत्काउँदो रहेछ । भौतिक संरचना मात्र होइन, यहुदीहरूको मन पनि भत्किएको छ । मैले धेरै नागरिकसँग कुराकानी गरेँ, उनीहरू लड्ने–भिड्ने कुरा मात्रै गर्छन् । बालबालिकाहरूको अवस्था सबैभन्दा दयनीय छ । आतंकवादीहरूले क्रूर ढंगले मानिस मारेको सुन्दा आँखा रसाउँछ,’ भारतीय पत्रकार वैभव पलनीटकरले भने । उनी यतिबेला युद्धभूमिमै छन् ।इजरायलमा फसेका नेपालीलाई बेलैमा घर ल्याउँदा नेपाल सरकार र परराष्ट्रमन्त्री एनपी साउदले राम्रो प्रशंसा बटुलेका छन् । उनी आफैैँं इजरायलको राजधानी तेल अभिभ पुगे ।र, नेपाल वायुसेवा निगमको वाइडबडी विमानभित्र पालैपालो इजरायलमा फसेका विद्यार्थीहरूलाई स्वागत गरे । ‘यसपालि साँच्चिकै सरकार छ भन्ने महसुस भयो,’ मन्त्रीसँगै फर्किएका किशोरले भने ।इजरायलमा अलपत्र बाँकी नेपालीलाई पनि फर्काउने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् । ग्रिनेडको छर्राबाट घाइते भएका तीनजना नेपाली उतै छन् ।
उनीहरूको उपचार जारी छ । र, ‘आतंकवादी हमास’को आक्रमणबाट गत शुक्रबार ज्यान गुमाएका नेपालीको शव ल्याउने प्रक्रियासमेत थालिएको छ ।‘नेपालीको मृत्युको मूल्य साह्रै सस्तो भयो ! कहिले इराक, कहिले अफगानिस्तान– जहाँ पनि हामी नै मर्नुपर्दोरहेछ । अहिले म गाजापट्टीको बंकरभित्र छु, भाग्यले साथ दिएसम्म बाँच्ने हो ! कालले घेरेको रहेछ भने लुकेर पनि केही हुँदैन,’ युद्धग्रस्त इजरायलबाट राजेन्द्रले भने ।
टिप्पणीहरू