'हो दसैं, दसैंजस्तो छैन'
-कुसुम गौतम, म्यान्मार ।
जता हेर्यो त्यतै उराठलाग्दो देखिन्छ । मौसम पनि मौसम जस्तो छैन । आफैँमा उराठलाग्दो, निराशाका बादलभित्र गुम्सिरहेको समयजस्तो ।
वातावरण यस्तो लाग्छ कि, यो मौसमको हावामा दसैंको सुवास कतै छैन । न कसैको मुहारमा देखिन्छ दसैंको उमङ्ग, न कसैको अधरमा त्यसको खुशी ।
बस् हेर्दा लाग्छ, एउटा बनावटी खुशी बोकेर जिन्दगीको जोहो गर्न मान्छे कुदिरहेका छन्, पाइलाहरू अघि नबढे पनि ।
पहिला दसैं आयो भन्नेबित्तिकै सूर्यको ताप न्यानो लाग्थ्यो । पारिजातको सुवासमा घुलेको बतासले दसैंलाई बोलाइरहेको जस्तो लाग्थ्यो ।
बिहानीको शीतले छोएका गुलाबका रङ्गीन फूलहरू नै दसैंका प्रतीक हुन्, जस्तो लाग्थ्यो ।
शीरमा पहेंलिएका जमरा र रातो टीकामा जीवन देख्थेँ, सार देख्थेँ दसैंको प्रफुल्लित मुहार देख्थेँ ।
दसैं भनेपछि हुरुक्कै हुन्थ्यौँ हामी सबै । तर, आज त्यस्ता भाइब्सहरू हराइसकेका छन्, यो सहर यी गाउँहरूबाट । यहाँका जीवनहरूबाट ।
आँखामा झलझली देख्छु हाम्रा रमाइला ती दिनहरू ।
दसैं आउनुभन्दा एक महिना अगाडिबाट घरघरमा गएर चेलीबेटी जम्मा गरेर नाच देखाइरहेका अनि सिकाइरहेका दाजुभाइहरू ।
युवाहरु तँछाडमछाड गर्दै नाच सिकाउन तम्सिने गर्थे, जोश जाँगर उस्तै थियो । तर, आज यी सब गाउँ–ठाउँहरू खाली–खाली छन् । युवाहरू छैनन् । उमङ्ग छैन । उत्साह मृत छ ।
आज न त दसैंका गीत गुञ्जिएका छन्, न त दसैंका धुन ।
दुर्गा मन्दिरको प्राङ्गण पनि सुनसान छ । जहाँ फूलपातीदेखि नवमीका दिनसम्म तीनदिने नाचो चल्थ्यो । एकाङ्की नाटक र युवाहरूको नेतृत्वमा हुने गथ्र्यो सांगीतिक कार्यक्रमहरू । त्यतिबेला नेपालबाट कलाकारहरु पनि आउँथे । तर, आज त्यो आँगनले पनि दसैं बोलाउन सकेन ।
किनकि, त्यस प्रकारका कार्यक्रमहरू गर्न यहाँको सैनिक सरकारले रोकिदिएको छ । बिहान मन्दिरको आरतीमा हिजोका भीडभाड केही देखिँदैन न उत्साह हुन्छ ।
नवरात्रिमा ब्रत बस्ने युवा–युवतीहरू निकै कम छन् । अझ भनौं तन्नेरीहरू छैनन्, अब हाम्रा यी नेपाली गाउँघरमा । हिजो रंगीन उत्साह र उमङ्ग बोकेर आउने दसैं यसपटक खल्लो–खल्लो छ ।
म्यान्माली नेपाली समाजको सबैभन्दा नाजुक परिस्थिति बन्न पुगे सांस्कृतिक चाडपर्वहरू पनि । यहाँ कोरोना महामारीदेखि हरेक पर्वको भव्यता हराएको छ । त्यसपछिको राजनीतिले गर्दा झन् खरानी भएका गाउँघरहरूसँगै यहाँका चाडपर्वहरू पनि सबै त्यही ज्वालामा खरानी भए ।
कोरोनाकालमा जन्मिएका केटाकेटीहरूले भने आजसम्मको चाडपर्वको रुप देख्न पाएका छैनन्, विचराहरू । १२–१३ वर्षका एकहुल केटीहरू गन्गन गर्दै थिए, ‘हामी सानामा दसैं आएपछि नाटक हेर्न जान्थ्यौँ । कति रमाइलो हुन्थ्यो नि ! मिठाई खान पाइन्थो । राम्रा लुगा लगाउन पाइन्थ्यो । नाच्न पाइन्थ्यो । गाउन पाइन्थ्यो । तर, अहिले त नाच्नु गाउनुको त कुरै छोड ठूलो स्वरले गीत पनि सुन्न हुन्न रे !’
उनीहरूको यो पीडा सुनिदिने को छ र अब यहाँ ?
एकछिन् सबै मौन हुन्छन् । सोच मग्न हुन्छन् । अनि कहीबेर पछि एउटी फुच्ची केटीले भन्छे, ‘हो नि साथी दसैं पनि दसैं जस्तो छैन ।’
अनि, सायद सबैको मन भन्छ– ‘हो दसैं, दसैंजस्तो छैन ।’
टिप्पणीहरू