राजावादीहरुले आफ्ना अध्यक्षबारे भ्रम छरेको भन्दै शंकर पोखरेल क्रुद्ध

राजावादीहरुले आफ्ना अध्यक्षबारे भ्रम छरेको भन्दै शंकर पोखरेल क्रुद्ध

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबारे राजावादीहरुले मिथ्या प्रचार गरेको बताएका छन् । कम्बोडियाको टेलिकम कम्पनीमा केपी ओलीको लगानी रहेको भन्दै राजावादीहरूले भ्रम छरेको उनले दावी गरेका हुन् । 

यसबारे सामाजिक सञ्जालमा लेख्दै पोखरेलले विगतमा माओवादीहरूले आफ्ना अध्यक्षका विषयमा भ्रम छर्ने गरेकोमा अहिले राजावादीहरुले मिथ्या आरोप लगाएको बताएका छन् । सुशासन र विकासका सन्दर्भमा केपी ओली नै सबैभन्दा योग्य व्यक्ति रहेको पनि उनको जिकिर छ । 

'पहिले माओवादीहरू जावलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे,' पोखरेलले भनेका छन्, 'अहिले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ ।'

वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूले यस्ता भ्रमको खेति गरिरहेको पोखरेलको दावी छ । उनले यस्ता भ्रामक कुरामा विश्वास नगर्न पनि सबैलाई भनेका छन् ।

टिप्पणीहरू