माओवादी केन्द्रको विद्यार्थी संगठनमा पदाधिकारीको भीड, सचिव मात्रै ५७ जना
सत्तारुढ नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय समिति आयोजक कमिटीमा रुपान्तरण भएको छ । क्रान्तिकारीले मौजुदा केन्द्रीय समितिलाई विस्तार गरी ९९९ सदस्यीय आयोजक कमिटी बनाएको हो ।
२३ औं राष्ट्रिय सम्मेलन आयोजक कमिटीमा ९९ जना पदाधिकारी छन् । जसमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक-एक जना रहेका छन् भने १८ जना उपाध्यक्ष बनाइएको छ । त्यस्तै, २१ जना उपमहासचिव र ५७ जना सचिव छन् ।
असन्तुष्ट पवन कार्की समूहलाई समेत समेट्नुपर्ने भएकाले आयोजक कमिटी ठूलो हुन गएको बताइएको छ । विद्यमान केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु तहगत विस्तार गरी २३औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय भएको सो संगठनका फ्याक्सन इञ्चार्ज हिमाल शर्माले जानकारी दिए ।
क्रान्तिकारीले केन्द्रीय समितिका पदाधिकारी, सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरू स्वतः प्रतिनिधि हुने व्यवस्था खारेज गरी निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने व्यवस्था समेत थप गरेको छ ।
'आयोजक समितिमा रहनुहुने सबैजना आगामी राष्ट्रिय सम्मेलनमा तलैबाट प्रतिनिधि चुनिएर आउनुपर्ने निर्णयसमेत भएकोले कमिटी ठूलो/ सानोको बहस नगरौ', शर्माले भने, 'सम्मेलनमा निर्वाचनको विधि अवलम्वन गरि सानो र चुस्त कमिटी बन्ने विश्वास गरौ !'
टिप्पणीहरू